logo
२०८० चैत्र १५ बिहीवार



सङ्क्रमण मुक्त भएपछि मात्र काममा

मुख्य समाचार |


सङ्क्रमण मुक्त भएपछि मात्र काममा


काठमाडौँ, माघ ५ गते । काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयले सरकारी तथा गैरसरकारी सेवामा कार्यरत व्यक्ति तथा कर्मचारीलाई कोभिड–१९ को लक्षण देखिएको पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र नेगेटिभ रिपोर्ट नआएसम्म काममा नफर्किन निर्देशन दिएको छ ।
ती कार्यालयबाट मङ्गलबार जारी छुट्टाछुट्टै आदेशमा सो निर्देशन दिइएको हो । सिनेमा हल, डिस्को–डान्स, दोहोरी, नाइट क्लब, हेल्थ क्लब, मसाज, स्पा, फुटसल र हाटबजार माघ १५ गतेसम्मका लागि बन्द गरिएका छन् ।

सार्वजनिक यातायातका सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न र मास्क नलगाएका यात्रुलाई निषेध गर्न निर्देशन दिएको छ । चालक र सहचालकलाई पाँच रुपियाँ शुल्क लिई यात्रुलाई मास्क बिक्री गर्न सक्ने सुविधा प्रदान गरिएको छ ।सार्वजनिक यातायातको ढोकामै सेनिटाइजर राख्न र सवारी साधन दैनिक रूपमा निःसङ्क्रमित गर्न तथा लामो दूरीका सवारी साधनलाई बीच बाटोमा यात्रु नचढाउन आदेश दिइएको काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताउनुभयो ।

लामो दूरीका सार्वजनिक यातायातका सवारी साधनलाई यात्रु ओसारपसार गर्दा सम्बन्धित जिल्लाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीएमसी)सँग समन्वय गर्न निर्देशन दिएको छ । यस्तै, मास्क नलगाई घर बाहिर निस्कन निषेध गरिएको छ । विभिन्न होटलमा कार्यरत कर्मचारीका लागि मास्क, फेससिल्ड र पन्जा अनिवार्य, होटलमा बास बस्न आउने ग्राहकसँग एन्टिजेन परीक्षण रिपोर्टलगायत कागजपत्र राख्न निर्देशन दिएको छ । शङ्का लागेमा एन्टिजेन परीक्षण प्राथमिकतामा राखिएको छ ।

धार्मिक एवं सांस्कृतिक परम्परा, जात्रा, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कारलगायत अत्यावश्यक क्रियाकलाप सञ्चालन गर्दा ५० जनाभन्दा बढीलाई उपस्थित गराउन नहुने आदेशमा उल्लेख छ । सोबाहेक २५ जना जम्मा हुने क्रियाकलापका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृत लिई जनस्वास्थ्य मापदण्डको पालना गर्न र गराउन अनिवार्य गरिएको छ । रङ्गशालामा खेलकुद हेर्न आउने दर्शकमध्ये कुल क्षमताको एक तिहाइलाई मात्र प्रवेश दिन भनिएको छ ।

व्यापारिक भवन, सपिङ मल, डिपार्टमेन्ट स्टोरलगायतका ग्राहकको भीड लाग्ने पसलमा २५ जनाभन्दा बढी व्यक्ति उपस्थित नहुने गरी दुई व्यक्तिबीच करिब दुई मिटरको दूरी कायम राखी व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । विभिन्न मठ–मन्दिर मस्जिद, गुम्बा र चर्चलगायतका धार्मिक स्थानमा हुने नियमित नित्य, ध्यान र प्रार्थनाबाहेकका पूजाआजा, मेला माघ मसान्तसम्मका लागि स्थगित गरिएको छ । गोष्ठी, सेमिनार, छलफल र अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालनका लागि भर्चुअल माध्यम प्रयोग गर्न सुझाव दिइएको छ ।

विश्वविद्यालय, कलेज र स्कुललगायत शिक्षण संस्थालाई माघ १५ गतेसम्म अनलाइन तथा भर्चुअल सिकाइ कक्षा सञ्चालन गर्न सुझाव दिएको छ । जनस्वास्थ्य तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएका शान्ति सुरक्षासँग सम्बन्धित अत्यावश्यकबाहेक अन्य सेवा स्थगित गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।

विभिन्न राजनीतिक पार्टी, स्थानीय तह, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मीलगायत सर्वसाधारण नागरिकलाई कोभिड–१९ को सङ्क्रमणबाट जोगिन र जोगाउन जनस्वास्थ्य मापदण्डको पालनासँगै आवश्यक सहयोग तथा समन्वयका लागि आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?