logo
२०८१ बैशाख ८ शनिवार



सरकार देश समुन्नत बनाउनेतर्फ केन्द्रित

राष्ट्रिय |


सरकार देश समुन्नत बनाउनेतर्फ केन्द्रित


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ४ गते । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सङ्घीयता कार्यान्वयन गर्दै देशलाई समुन्नत बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा गरेका कामको प्रगति विवरण प्रस्तुत गर्दै उहाँले नयाँ संरचनाअनुसार विकास निर्माणकार्यलाई समयसापेक्ष ढङ्गले रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको हो । सङ्घीयताअनुरूप विकासको मोडेल निर्माण गरी संरचनागत सुधार गर्ने बताउँदै उहाँले नागरिकका आकाङ्क्षासँग जोडिएका विषय सम्बोधन गर्दै मन्त्रालयले योजनाबद्ध रुपमा काम अघि बढाएको उल्लेख गर्नुभयो ।

सय दिनको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्रालयले पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर सहर तथा बस्ती विकास गर्ने दीर्घकालीन योजनाअनुरूप सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नगर विकास कोषसहितका निकायमार्फत सहरी विकास, भवन निर्माण र आवास व्यवस्थाका क्षेत्रमा काम गरिरहेको जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्माले प्रस्तुत गर्नुभएको प्रगति विवरणअनुसार मन्त्रालयको समग्र प्रगति १८.९१ प्रतिशत रहेको छ । उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालूतर्फ विनियोजित एक अर्ब ९४ करोड रुपियाँमा ६९ करोड अर्थात् ३५ प्रतिशत र पुँजीगततर्फ विनियोजित २८ अर्ब ९० करोड रुपियाँमध्ये पाँच अर्ब आठ करोड अर्थात् १७ प्रतिशत खर्च भएको छ ।”

राष्ट्रिय सहरी नीतिलाई परिमार्जन गरी सङ्घीय ढाँचा अनुकूल बनाउन प्रस्तावित नीतिका उद्देश्यलाई अन्तिम रूप दिई प्रदेश र स्थानीय तहलगायतका सरोकारवालासँग अन्तक्र्रिया गर्ने तयारी गरिएको शर्माले उल्लेख गर्नुभयो । मन्त्रालयको ३७ बुँदे प्रगति विवरणमा नीतिगत सुधार, पुनर्निर्माण र निजी आवास निर्माण, सहरी र नगर विकाससहितका कार्यक्रम समावेश गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?