logo
२०८१ बैशाख ७ शुक्रवार



राष्ट्रियसभा निर्वाचनकाे उम्मेदवारी दर्ता मंगलबार

राष्ट्रिय |


राष्ट्रियसभा निर्वाचनकाे उम्मेदवारी दर्ता मंगलबार


काठमाडौं, पुस १९ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम मंगलबारदेखि सुरु हुँदैछ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले पुस २० गते उम्मेदवारी दर्ताको समय छुट्याएको छ । त्यस्तै, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । मतदानका लागि आयोगले प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एक–एक वटा मतदान केन्द्रभित्र दुई–दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरेको छ ।

आयोगले निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता हुने जनाएको छ ।

प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ ।

यसैगरी, प्रदेश २ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल रहने छ ।

राष्ट्रिय सभा निर्वाचनमा भाग आयोगमा लिन १२ वटा राजनीतिक दलले दल दर्ता गरेको छ । निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल रहेका छन् ।

यद्यपी, नेपाली काँग्रेसले निर्वाचनका लागि उम्मेदवार टङ्गो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ६ प्रदेशमा उम्मेदवारहरुको नाम टुङ्गो लगाएको हो ।
जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, लुम्बिनी प्रदेशमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र रहनुभएको छ ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाले राजेश विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्धीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले जन मोर्चालाई दलित कोटामा एक दिन निर्णय गरेपछि जनमोर्चाले विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।

यसैगरी, नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रियसभाका लागि चार जना उम्मेदवारको नाम टुङ्ग्याएको छ ।

सोमबार पार्टीको केन्द्रीय सचिवालयको बैठकले प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी, एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ । यसैगरी, प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी, गण्डकी प्रदेशमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल, दलितबाट गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार तय गरेको हो ।

एमालेले लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार, कर्णाली प्रदेशमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी र सुदूरपश्चिम प्रदेशमा खुलातर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलितबाट नरेश बिक आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?