logo
२०८० चैत्र १६ शुक्रवार

हिमपातले पोखरा–जोमसोम हवाई उडान प्रभावित (फाेटाे फिचर)

राष्ट्रिय |
प्रदेश |
फिचर |
फोटो फिचर |


2021-12-30-54197



अमृतप्रसाद पौडेल
बेनी, पुस १५ गते । तीन दिनदेखिको वर्षाले गर्दा विमानस्थलमा हिउँ जमेपछि पोखरा–जोमसोम उडान थप प्रभावित भएको छ । मंगलबारदेखि लगातार परेको वर्षा र हिमपातले जनजीवनलाई कठिन बनाएको भए पनि बिहीबार बिहानदेखि हिउँ पर्न भने रोकिएको छ । चिसोको समयमा लोड नपुग्ने हुँदा केही समय उक्त उडान अवरुद्ध हुने गरेको भए पनि मंगलबारदेखिको हिमपातले गर्दा विमानस्थलमा हिउँ जमेपछि तत्काल उडान हुने सम्भावना कम भएको छ ।

चिसो मौसममा करिब एक महिना नियमित उडान रोकिए पनि चार्टर फ्लाइट हुने गरेको भए पनि हिउँ परेको कारणले गर्दा अहिले तत्काल उडन सम्भव नदेखिएको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले बताउनुभयो । शर्माले भन्नुभयो– ‘‘अहिले २० डिसेम्बरदेखि नियमित उडान रोकिएको भए पनि चार्टर वा लोड पुगेपछि प्लेन आउने गरेको भए पनि अब विमानस्थल केही समय हिउँ नपग्लेसम्म सञ्चालन हुन मुस्किल छ ।’’

हिमालपारीको जिल्ला मुस्ताङमा मंगलबारदेखि भएको हिमपातले स्थानीय वासिन्दाको जनजीवन प्रभावित भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जोमसोम करिब एक फिट र लोमन्थाङ क्षेत्रमा करिब दुई फिट हिउँ जमेको छ । शर्माले भन्नुभयो, ‘‘अहिले यातायातलाई समस्या भएको छ, माथिल्लो भेकमा गाडी चलेको छैन । चिसोले गर्दा गाडी स्टार्ट हुनसकेको छैन भने हिउँ जमेर सडक पुरै अवरुद्ध भएको छ । जिल्लाको महत्वपूर्ण धार्मिकस्थल मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ जमेको छ ।’’ मुस्ताङको पाँच वटै गाउँपालिकामा हिउँ परेर जनजीवन प्रभावित पारेको मुस्ताङका प्रजिअ शर्माको भनाइ छ ।