logo
२०८० चैत्र १६ शुक्रवार



माओवादी राष्ट्रिय सम्मेलन : बहुपदमा नेतृत्वको प्रतिस्पर्धा

मुख्य समाचार |
राजनीति |


माओवादी राष्ट्रिय सम्मेलन : बहुपदमा नेतृत्वको प्रतिस्पर्धा


काठमाडौं, पुस ८ गते । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । माओवादी केन्द्रमा विगतदेखि नै बहुपदीय व्यवस्थाको विषय उठे पनि अध्यक्षबाहेकका पदमा प्रभावकारी अभ्यास भएको छैन । राष्ट्रिय सम्मेलन अगाडि माओवादीले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरेर पाँच पदाधिकारी रहने गरी पार्टी विधान अर्थात् अन्तरिम मस्यौदामा प्रस्ताव अघि बढाएको छ ।

राष्ट्रिय सम्मेलन सुरु हुनु केही दिन अगाडिदेखि विभिन्न विषयमा चर्चा हुन थालेको छ । पार्टी बहुपदीय पद्धतिमा प्रवेश गर्दा कार्यकारी भूमिकामा नेताहरु को-को अगाडि बढ्छन् भनेर बहस चर्किएको छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरता माओवादीमा निश्चित देखिन्छ । अध्यक्षपछि कार्यकारी मानिएको महासचिव पदमा युवा नेताहरुले दाबी गर्दै आउनुभएको छ । पार्टीलाई जीवन्त बनाउन युवा नेतृत्वको खाँचो देखिएको भन्दै कार्यकर्ताले आवाज उठाइरहेका बेला महासचिव पदमा नेताहरुको आकर्षण बढ्नु स्वाभाविक देखिन्छ । नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुनले महासचिवमा दाबी प्रस्तुत गर्दै आउनुभएको छ । माओवादी केन्द्रको नेतृत्वलाई बहुपदीय पद्धतिबाट अगाडि बढाउने तयारी र भावी नेतृत्व चयनकाे फरक अभ्यासले पार्ने प्रभावको विषयमा विभिन्न विश्लेषण भइराखेका छन् । यी र यिनै विषयमा माओवादी विधान परिमार्जन उपसमिति सदस्य देव गुरुङ, राजनीतिक विश्लेषकद्वय झलक सुवेदीमुमाराम खनालसँगको संवाद :

माओवादी माओवादी जस्तै बन्नुपर्छ : झलक सुवेदी
कम्युनिष्ट पार्टीमा महासचिव निर्णायक हुने परम्परा रहे पनि एमालेले २०६५ सालमा बहुपदीय पद्धतिको अभ्यास सुरु गर्‍यो । माओवादीले पनि २०६७/६८ तिरै बहुपदमा जाने निर्णय गर्‍यो । तर व्यवहारमा कार्यान्वयन नभएको राजनीतिक विश्लेषक झलक सुवेदी बताउनुहुन्छ । त्यत्तिबेला रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । अहिले आएर माओवादीमा बहुपदको विषय पुनः उठेको छ । ‘माओवादी सशस्त्र युद्ध अर्थात् भूमिगत राजनीतिक पृष्ठभूमि भएका कारण पनि एउटै व्यक्तिमा शक्ति केन्द्रित रहँदै आएको छ । शान्तिप्रक्रियामा पार्टी प्रवेश गरेपछि धेरैचोटीको टुटफुटसँगै पार्टीका नेता, कार्यकर्ता छरिए । यसले उत्तराधिकारी निर्माणमा पनि चुनौती थपिएको देखिन्छ’, सुवेदी भन्नुहुन्छ, ‘मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्द ‘विप्लव’, सिपी गजुरेललगायत नेताको समूह नै बाहिरिएपछि पार्टीभित्र नेतृत्वको विकल्प झनै कम भयो । ’

जनयुद्ध र शान्तिप्रक्रियाका कतिपय सन्दर्भ, समस्या पहिचान र समाधान हुन नसकेका कारण पनि पार्टी अध्यक्षमा चुनौती दिने स्थिति बन्न नसकेको उहाँको भनाइ छ । ‘यसले गर्दा खुला प्रतिस्पर्धा गर्ने, अध्यक्षलाई च्यालेन्ज गर्ने अवस्था नबनेको देखिन्छ । एकपद वा बहुपदले पार्टीको वैचारिक भिन्नतामा खासै अर्थ राख्दैन । महासचिव निर्णाय हुँदा पनि पोलिट्ब्यूरो, स्थायी समिति आफैँ पनि बहुपद जस्तो सामूहिक नेतृत्वको प्रणाली थियो । यसैलाई स्थापित गर्ने हो । जो अध्यक्ष हुन्छ, ऊ नै सर्वैसर्वा हुने अभ्यास सबै पार्टीमा छ’, सुवेदी भन्नुहुन्छ, ‘विचार फरक ल्याएर माओवादी अरु कम्युनिष्ट पार्टीभन्दा फरक हुन्छ । अन्यथा पद पाएपछि नेता हुने हो । नेता भएपछि पद टिकाइराख्ने बल हुन्छ । माओवादीले पहिचान खुल्नेगरी राजनीतिक गर्नुपर्‍यो । यो एमाले जस्तो हो कि ? काँग्रेस जस्तै हो ? वा माओवादी, माओवादी जस्तै हो ? पहिला यो विषय प्रष्ट हुनुपर्छ । अहिले अलमलिएको जस्तो देखिन्छ, यसो भइराखे जो नेता आए पनि केही हुँदैन । पार्टी अध्यक्षले तयार पारिरहनुभएको राजनीतिक प्रतिवेदनले मुख्य कुरा बोक्छ । त्यसपछि राजनीति र सङ्गठन कस्तो हुन्छ भन्ने तय हुन्छ ।’

माओवादीमा प्रतिस्पर्धा आवश्यक छ : मुमाराम खनाल

देश संघीयतामा गएको बेला देशका राजनीतिक शक्ति पनि विकेन्द्रीकरणतर्फ उन्मुख हुनुपर्ने राजनीतिक विश्लेषक मुमाराम खनालको भनाइ छ । नेतृत्वमा दाबी गर्नु, प्रतिस्पर्धा हुनु सकारात्मक विषय भएको उहाँको भनाइ छ । ‘पार्टीको संरचनालाई बलियो बनाउने हो भने त्यो केन्द्रीकृत शक्ति विकेन्द्रीकृत गर्न बढी प्रयत्नरत हुनुपर्छ । नभए, प्रदेशस्तरको संरचना बनाएको अर्थ हुँदैन । सबै अधिकार आफैँमा राख्ने अधिनायकवादी संरचनाले आन्तरिक पार्टीको लोकतन्त्रलाई समाप्त पार्छ’, खनाल भन्नुहुन्छ ।

माओवादीमा झण्डै तीन दशकभन्दा बढी समयदेखि एउटै नेतृत्व रहिरहेकोले सम्मेलनबाट धेरै आशा गर्न नसकिएको खनालको भनाइ छ । पार्टी लोकतान्त्रिक बनाउन नसके एकथरी मान्छे मात्रै अटाउने अवस्था सिर्जना हुने खनालको विश्लेषण छ । ‘जस्तो नेता त्यस्तै मान्छे मात्रै अटाउँछन्, पार्टी प्राइभेट प्रोपर्टी जस्तो बन्छ’, खनाल भन्नुहुन्छ ।

माओवादीको राष्ट्रिय सम्मेलनले राजनीतिक एजेण्डामा निर्णय लिएर र पोलिटिकल रोडम्याप तय गर्नुपर्ने उहाँको सुझाव छ । विश्लेषक खनालले नेतृत्व परिवर्तन, पार्टीभित्र प्रतिस्पर्धाको आधारलाई बनाउनुपर्नेमा जोड दिनुभएको छ। ‘नेतृत्व परिवर्तनका लागि पार्टीभित्र प्रतिस्पर्धा हुनुपर्छ’, खनाल भन्नुहुन्छ, ‘यसो हुन नसके पार्टीमा रक्तसञ्चार प्रवाह हुँदैन । पार्टीभित्र रक्तसञ्चारका लागि प्रतिस्पर्धा आवश्यक हुन्छ । ’

‘बहुपद’ सम्मेलनबाट पारित हुनुपर्छ : देव गुरुङ
माओवादीको राष्ट्रिय सम्मेलनमा ‘बहुपद’ लाई पार्टीको विधान अर्थात् अन्तरिम मस्यौदामा प्रस्ताव गरिएको विधान परिमार्जन उपसमितिका सदस्य देव गुरुङ बताउनुहुन्छ । ‘बहुपद अन्तरिक विधान पारित गर्ने कुरा हो । काँटछाँट, थपघट गरेर यसलाई अन्तिम रुप दिन्छौँ । यसलाई सम्मेलनले अस्वीकार गर्‍यो भने बहुपदमा जाने कुरा भएन । सम्मेलनले स्वीकार गर्‍याे भने त्यही अनुसारको सङ्गठनात्मक संरचना हुन्छ’, नेता गुरुङ भन्नुहुन्छ, ‘बहुपद विगतमा पनि अभ्यास गरेकै हो । यो लागू भयो भने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरेर पाँच सदस्यीय पदाधिकारीको प्रस्ताव भएको छ । यसैगरी प्रदेशमा नौ, पालिकामा सात र वडामा पाँच जना रहने प्रस्ताव गरिएको छ ।’

अब केन्द्रमा कति बनाउने भन्ने कुराको तय सम्मेलनले गर्ने गुरुङको भनाइ छ । अहिलेको परिस्थितिमा सैद्धान्तिक तथा नीतिगत र सङ्गठनात्मक प्रश्न उठेकाले यसको हल राष्ट्रिय सम्मेलनबाट हुने उहाँको भनाइ छ । ‘विगत तीन, चार वर्षभयो पार्टी एकीकरणदेखि नै बैठक बस्न सकेको छैन, बसे पनि निर्णय भएको छैन’, गुरुङ भन्नुहुन्छ, ‘माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनले यसलाई सक्रिय गराउने काम गर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?