logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेसको ९७ पदको मतपरिणाम सार्वजनिक, बाँकी आजै सक्नुपर्ने

राष्ट्रिय |
राजनीति |


काँग्रेसको ९७ पदको मतपरिणाम सार्वजनिक, बाँकी आजै सक्नुपर्ने


काठमाडौं, पुस ८ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत जारी रहेको मतगणना बिहीबार नै सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी अवस्था रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सचिव एवं अधिवक्ता केशव रिजालका अनुसार एक सय ३४ पदमा निर्वाचन भएकोमा हालसम्म ९७ पदको मतपरिणाम औपचारिकरुपमा घोषणा भएको छ । काँग्रेसको अब बाँकी ३७ पदको मतपरिणाम घोषणा हुन बाँकी रहेको उहाँ बताउनुहुन्छ । ३७ पदमध्ये पनि १३ पदको प्रमाणित हुने काम अघि बढिरहेको उहाँको भनाइ छ ।

‘अब खसआर्य (खुला) र महिलातर्फको र आदिवासी जनजातिभित्रको विभिन्न पदको मतगणना हुन बाँकी छ । यसमध्ये आधा हिजै सकिएको छ । दलित नौ पदको गणना सकिसक्यो, यो डिक्लियर पछि औपचारिक घोषणा हुन मात्र बाँकी छ । आज दिनभरीमा यो सक्नैपर्छ, हामीसँग भोलिको लागि समय छैन ।’, रिजालले बताउनुभयो ।

काँग्रेसको एक सभापतिसहित १३ पदाधिकारी र अन्य विभिन्न आठ क्लष्टरका केन्द्रीय सदस्य छन् । केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका लागि ९९ जना प्रतिस्पर्धी थिए । यसैगरी, सात वटै प्रदेशको केन्द्रीय सदस्य महिलातर्फ एक–एक जना महिला निर्वाचित भइसक्नुभएको छ । प्रदेश १ को खुलातर्फ एक जना र प्रदेश २ मा दुई जना विर्निरोध निर्वाचित छन् । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने खुलातर्फ दुई–दुई जनाको सङ्ख्यामा केन्द्रीय सदस्य निर्वाचित छन् ।

केन्द्रीय सदस्य अल्पसङ्ख्यक खुलामा एक, दलित महिलातर्फ चार जना, दलित खुलातर्फ पाँच जना छन् । यस्तै आदिवासी जनजाति महिलातर्फ सात, आदिवासी जनजाति खुलातर्फ आठ, खसआर्य खुलातर्फ सात, मधेसी महिलातर्फ चार, मुस्लिम खुलातर्फ दुई, थारु महिलातर्फ दुई, थारु खुलातर्फ दुई र पिछडिएको क्षेत्र खुलातर्फ एक जना केन्द्रीय सदस्य छन् ।

काँग्रेसको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार तय भएको र निर्वाचन आयोगमा दल दर्ता गर्ने समय पनि सकिन लागेकाले पनि शुक्रबारसम्म प्रमाणपत्र वितरणलगायतका सबै काम सम्पन्न गरिसक्नुपर्ने रिजालले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?