logo
२०८० चैत्र १५ बिहीवार



अवैध सम्बन्ध खुल्ने डरले विदेशबाट फर्केका श्रीमानकाे हत्या

खुला |
समाज |


अवैध सम्बन्ध खुल्ने डरले विदेशबाट फर्केका श्रीमानकाे हत्या
जुगल गाउँपालिका–३ गुम्बाका छेवाङको हत्या भएको स्थान



चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर २३ गते । अवैध सम्बन्ध खुल्ने डरले जुगल गाउँपालिका–३ गुम्बामा श्रीमान्को हत्या गरिएको छ । जुगल गाउँपालिका–३ का वर्ष ३९ को छेवाङ लामालाई उनकी श्रीमति वर्ष २८ की निमा साङ्लो तामाङ र कान्छालाल तामाङले ढुंगा र लाठीले कुटेर हत्या गरेका हुन् ।

हत्या गरेपछि दुबै जना नजिकै रहेको गोठमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले पक्राउ परेका निमा र कान्छालालले छेवाङको कुटेर हत्या गरेको स्वीकार गरेको जानकारी दिनुभयो ।

हप्तादिन अघि छेवाङ ६ वर्षको कतार रोजगारीबाट नेपाल फर्किएका थिए । घरमा आएपछि श्रीमती निमाको मोबाइलमा लगातार फोन आउने भएपछि छेवाङले केही दिनपछि उक्त मोबाइलको सीमकार्ड फेरेर श्रीमतीलाई मोबाइल फर्काएका थिए । सीमकार्ड झिकेपछि नाता पर्ने कान्छालालसँगको अनैतिक सम्बन्ध थाहा पाउने डरले श्रीमानको हत्या गरेको निमाले प्रहरीसमक्ष स्वीकार गरेको डिएसपी बस्नेतले बताउनुभयो ।

मङ्सिर २० गते छेवाङलाई गाउँमा रहेको ससुरालीमा बेलुका खाना खाने निम्तो थियो । उनी ससुरालीमा खाना खाएर घर फर्कँदै गर्दा ससुराली घर भन्दा एक सय मिटर पर उनको हत्या भएको थियो । श्रीमती निमा र कान्छालालले बाटो कुरेर ढुंगा र लाठीले कुटेर हत्या गरेको डिएसपी बस्नेतले बताउनुभयो ।

आफूमाथि कुटपिट हुन थालेपछि छेवाङले हारगुहार माग्दै सालो र छिमेकीलाई बोलाएका थिए । तर डरका कारण सालो र छिमेकी छेवाङ भएको ठाँउमा ढिला पुग्दा छेवाङ अर्धनग्न अवस्थामा बारीको खोल्छामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेको बताएका छन् । तत्काल नै प्रहरी कार्यालय कात्तिकेका प्रहरी, इलाका प्रहरी कार्यालय जलबिरेका टोली घटनास्थल पुग्दा छेवाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना भएको उक्त रातदेखि नै श्रीमती निमा र कान्छालाल फरार थिए । उनीहरु गोठमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला अदालत चौतारामा सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकी श्रीमती निमा दुई छोरा र एक छोरीकी आमा हुन् भने पक्राउ परेका कान्छालाल विवाहित हुन् । उनीहरु दुबै नाता सम्बन्ध भएका व्यक्तिहरु हुन् । बुबाको हत्या र आमा पक्राउ परेपछि मृतक छेवाङको तीन बच्चाहरुको विचल्ली भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?