logo
२०८१ बैशाख ८ शनिवार



सरकारले राष्ट्रिय युवानीति तयार गर्दैछः मन्त्री गहतराज

राष्ट्रिय |
प्रदेश |


सरकारले राष्ट्रिय युवानीति तयार गर्दैछः मन्त्री गहतराज


सिराज खान
नेपालगञ्ज, मङ्सिर २१ गते । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले देशको प्रमुख शक्ति युवालाई राष्ट्र निर्माणमा उपयोग गर्नेगरी राष्ट्रिय युवा नीति तयार पारिरहेको बताउनुभएको छ ।

मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदले बाँकेको कोहलपुरमा आयोजना गरेको चालु आर्थिक वर्षको समिक्षा कार्यक्रममा बोल्दै मन्त्री गहतराजले अब सबै युवालाई समृद्ध नेपालका लागि उपयोग गरिने बताउनुभयो ।

युवालाई रोजगार, स्वरोजगार बनाउन तथा स्रोतको पनि व्यवस्थापन गरेर आत्मनिर्भर बनाउने गरी नीति र्तजुमाको काम भइरहेको मन्त्री गहतराजले बताउनुभयो । देशको ४० प्रतिशत युवाको अपेक्षा पूरा गर्न मन्त्रालयसँग कुल बजेटको १ प्रतिशतभन्दा कम बजेट हुनु आफैमा दुखद भएको उहाँले बताउनुभयो । सीमित स्रोतबाट उपलब्धीमुलक काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

बैदेशिक रोजगारमा जाने युवालाई सीपमुलक बनाउनुका साथै सीपआर्जन गरी सकेपछि पनि स्रोत पुँजिको व्यवस्थापन गनुपर्ने उहाँले बताउनुभयो ।

मन्त्रालयले निकट भविश्यमा अनुभव आदानप्रदान हुने हिसावले सफल युवा उद्यमी र केही गरौ भन्ने सोच भएका युवाबीच बृहत अन्तरक्रिया गरी युवामा उत्साह भर्ने उहाँले बताउनुभयो ।

निराश युवालाई उत्साह थप्ने काम मन्त्रालयको भएको भन्दै युवालाई उत्पादनमुलक व्यवसाय गरेर आफु आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्ध गर्नेगरि काम गर्न सो अवसरमा मन्त्री गहतराजले सुझाव दिनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले रोजगार र स्वरोजगार बनाउनेखाले युवा नीति बनाउन लागिएको जानकारी दिनुभयो । तीन तहको समन्वयमा मात्रै युवालाई रोजगार र स्वरोजगार बनाउन सकिने उहाँको भनाई छ ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले युवालाई देश निर्माणमा सहभागी नगराएसम्म देश अघि बढ्न नसक्ने बताउनुभयो ।

दुई दिने सो कार्यक्रममा युवा परिषद लुम्बिनी र सुदुरपश्चिम प्रदेश जिल्ला अध्यक्षहरु, दुवै प्रदेशका युवा मन्त्रालयका अधिकारीहरु, स्थानिय तहका युवा तथा खेलकुद बिकास शाखाका प्रमुखहरुको सहभागिता रहेको युवा परिषदका कार्यालय प्रमुख बाबुराम गौतमले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?