logo
२०८१ बैशाख ८ शनिवार



दशौं महाधिवेशनबाट जनाधार एमालेसँग छ भन्ने पुष्टि भयोः नेता भट्टराई

राष्ट्रिय |


दशौं महाधिवेशनबाट जनाधार एमालेसँग छ भन्ने पुष्टि भयोः नेता भट्टराई


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २१ गते । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनले जनताको जनाधार एमालेलाई रहेको पुष्टि भएको बताउनुभएको छ । पार्टी प्रचार विभागद्वारा दशौं महाधिवेशनबारे समिक्षा गर्ने कार्यक्रममा आज उहाँले सो कुरा बताउनुभयो ।

एमाले नै अहिले पनि मुलुकको सबैभन्दा ठूलो दल रहेको र आगामी दिनमा पनि ठूलो दल भएर आउने चर्चा गर्नुहुँदै देशको मूल नेतृत्वकर्ता दलको नै देश बनाउने जिम्मेवारी रहने बताउनुभयो । एमाले समग्र मुलुककै नेतृत्वकर्ता दल भएकाले यससँग जिम्मेवारी पनि बढिरहेको बताउनुभयो ।

“एमाले केवल एमालेको मात्र नेतृत्वकर्ता दल होइन, यो दलहरुको पनि नेतृत्वकर्ता दल हो” भन्नुहुँदै नेता भट्टराईले भन्नुभयो, “एमालेले देशकै नेतृत्व गरिरहेको भए पनि मेनस्ट्रिम मिडियाले एमालेको सकारात्मक मूल्याङ्कन गर्न सकिरहेको छैन ।” चितवनमा भएको दशौं महाधिवेशनको उदघाटनसत्रमा अहिलेसम्मकै बढी जनता उपस्थित भए पनि त्यसलाई मिडियाले प्राथमिकतासाथ समाचार सम्प्रेषण गर्न नसकेको उहाँले बताउनुभयो ।

पार्टी महाधिवेशनको प्रचारको काम समग्रमा राम्रो भए पनि केही त्रुटी भएको र त्यसलाई आगामी दिनमा सच्याएर अघि बढ्ने उहाँले बताउनुभयो । महाधिवेशनको प्रचारमा जिम्मेवारी निर्वाह गर्नुहुने सबै मिडियाकर्मी तथा सञ्चारमाध्यमलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

प्रचार विभागका उपप्रमुख तथा केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनको प्रचारमा केही सामान्य त्रुटि रहे पनि समग्रतामा राम्रो भएको बताउनुभयो । एमालेको जनमत देखेर अन्य दल विचलित भएको पनि उहाँले दाबी गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजाल, प्रचार विभागका सचिव गगन विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, सञ्चारिका समूहका पूर्व अध्यक्ष निर्मला शर्मालगायतले एमाले महाधिवेशनमा मिडियाको तर्फबाट भए गरेको कामको समीक्षा तथा सुधार्नुपर्ने विषयमा सुझाव दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?