logo
२०८१ बैशाख १३ बिहीवार

  काँग्रेसको बागमती प्रदेश अधिवेशन  



सभापतिमा पुनः मतदान हुने, बानियाँ र केसीबीच प्रतिस्पर्धा

राष्ट्रिय |
प्रदेश |


सभापतिमा पुनः मतदान हुने, बानियाँ र केसीबीच प्रतिस्पर्धा


राममणि दाहाल
हेटौँडा, मङ्सिर १९ गते । नेपाली काँग्रेसको हेटौँडामा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । प्रदेश सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नपुगेपछि पुनः मतदान हुने भएको हो । काँग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
बढी मत ल्याउन ईन्द्रबहादुर बानियाँ र जगदिशनरसिंह केसीबीच सभापति पदका लागि मतदान हुने भएको छ ।
आइतबार सार्वजनिक भएको मत परिणामअनुसार बानियाँले ९९२, केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत प्राप्त गर्नुभएको थियो । १० मत बदर भएको छ ।
काँग्रेस प्रदेश निर्वाचन समितिका संयोजक केशवप्रसाद काफ्लेले पुनः मतदान कार्य ११ः३० बजेबाट सुरु हुने जानकारी दिनुभयो ।
प्रदेश सभापतिलगायतका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको शनिबार भएको मतदानमा दुई हजार १५१ जना मतदातामा २०७१ मत खसेको थियो ।
सभापतिका लागि मतदान सकिएपछि कार्यसमितिका उपसभापति, महामन्त्री, सहमहामन्त्री र कार्यसमितिका लागि भएको मतदानको मतगणना गरिने समितिका संयोजक काफ्लेले जानकारी दिनुभयो ।  प्रदेश सभापतिमा देउवा पक्षबाट बानियाँ, पौडेल पक्षबाट केसी र सिटौला पक्षबाट प्रधानले प्यानलसहित उम्मेदवार बन्नुभएको थियो ।
प्रदेश उपसभापतिमा चन्द्र महर्जन, धर्मराज गौतम, मोहनबहादुर बस्नेत र राजेन्द्रप्रसाद बुर्लाकोटीबीच प्रतिस्पर्धा भएको छ । दुई जना महामन्त्रीका लागि कञ्चनचन्द्र वादे, रामचन्द्र अर्याल, राजु श्रेष्ठ, तिलकप्रसाद रुवाली, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठलेले उम्मेदवार रहनुभएको छ ।
सहमहामन्त्रीमा महिलातर्फ जीवन डङ्गोल, निर्मला बस्ताकोटी र मोतीमाया तामाङ उम्मेदवार रहनुभएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।
यसैगरी खुलातर्फ दुई जना सहमहामन्त्रीमा ऋषिराम घिमिरे, जगन्नाथ धिमाल, वीरबहादुर तामाङ, हरिशरण श्रेष्ठ, राजकुमार पाठक, महेन्द्र थिङ र जयनारायण सापकोटाबीच चुनावी प्रतिस्पर्धाभएको छ ।
प्रदेश निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले सभापतिसहित विभिन्न पदमा गरी २५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बताउनुभयो ।
९१ सदस्यीय कार्यसमितिमा पदाधिकारी बाहेक हरेक जिल्लाबाट, खुला, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, खसआर्य गरी ८३ जना कार्यसमिति सदस्यका लागि निर्वाचन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?