logo
२०८१ बैशाख १३ बिहीवार



चिसो मौसमसँगै भक्का मनपराउने बढे

खुला |


चिसो मौसमसँगै भक्का मनपराउने बढे
फुङ्लिङ बजारको तोक्मेडाँडामा भक्का व्यापार । तस्बिर - चन्द्र पन्दाक



चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ हेलिप्याडकी ४८ वर्षीया दिलमाया गुरुङ प्रत्येक दिन बिहान सबेरै उठ्नुहुन्छ र तोक्मेडाँडामा आएर ‘भक्का’ पकाउन थाल्नुहुन्छ । सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा सडक किनारमा बसेर गुरुङले भक्का पकाउन थालेपछि भक्का रुचाउनेहरु त्यहाँ जम्मा हुन्छन्, त्यसपछि कति खाने हो सोही अनुसार अर्डर (माग) गर्न थाल्दछन् । ग्राहकको माग हुन थालेपछि दिलमायालाई भक्का पकाउनलाई भ्याइनभ्याई हुन्छ ।
दुई वर्ष अघिदेखि जिल्लामै पहिलो पटक दिलमायाले भक्का पकाएर बेच्न थाल्नुभएको हो । झापा, मोरङ, सुनसरी लगायत तराईका जिल्लामा आदिवासीको मौलिक परिकारको रुपमा चिनिँदै आएको भक्काको स्वाद सर्वसाधारणले रुचाएपछि हिमाली जिल्ला ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा पनि भक्का निक्कै लोकप्रिय बन्दै गएको छ । चामलको पिठोबाट बनाइने भक्का सबैले रुचाउने बिहानी खाजा बन्दै गएको पाइएको छ ।
चिसो मौसम शुरु भएपछि भक्काको व्यापार बढेको र ग्राहकहरुको भीड लाग्न थालेको दिलमाया बताउनुहुन्छ । प्रत्येक दिन विहान घरदेखि तोक्मेडाँडामा आएर भक्का पकाउँदै बेच्दै आएको र दैनिक आठ सयदेखि एकहजार रुपियाँसम्म कमाई हुने गरेको उहाँले बताउनुभयो । लोकल (स्थानीय) चामलको पिठोको भक्का पकाएर बेच्ने गरेका कारण धेरैले रुचाउने गरेको उहाँको भनाइ छ ।
भक्का प्रतिगोटा २० रुपियाँले बेच्दै आउनुभएको छ भने प्रत्येक दिन दुई/तीन केजी पिठोको भक्का विक्री हुने गरेको उहाँले बताउनुभयो । शनिबार र मङ्गलबार तोक्मेडाँडामा हाटबजार लाग्ने भएकाले सो समयमा दुई हजार रुपियाँ सम्मको भक्का विक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । गर्मी मौसममा भन्दा जाडो मौसममा भक्काको व्यापार दोब्बर बढी हुने गरेको अनुभव उहाँले सुनाउनुभयो । उहाँका अनुसार alहान दुई घण्टा जति हुने भक्काको व्यापारबाट फाइदा पनि राम्रै हुने गरेको छ ।
लोकल चामलको भक्का निक्कै स्वादिलो हुने र बच्चादेखि वृद्धवृद्धासम्म सबैका लागि यो परिकार स्वस्थकर हुने पनि बताइन्छ । हाल गुरुङले विक्री गर्ने घुम्ती भक्का पसलमा बालबालिकादेखि वृद्धवृद्धासम्म पुग्ने गरेका छन् । बिहानको हिँडाइ (मर्निङ वाक) मा निस्कनेहरु धेरैले भक्का खाएर मात्र फर्कने गरेका छन् ।
चिल्लोको मात्रा नहुने भएकाले सबैले भक्का मनपराउने गरेका दिलमायाले बताउनुभयो । यता भक्का पकाउनलाई खासै झन्झटिलो पनि नरहेको उहाँको भनाइ छ । चामलको पिठो तयार पारेपछि सानो कचौरामा हालेर पानीको बाफमा पकाउन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार दुई वटासम्म भक्का खाँदा पेट पनि भरिने र स्वादिलो समेत हुने भएकाले ग्राहकहरु आकर्षित हुने गरेका छन् । अन्य खाजाको तुलनामा भक्का सस्तो र स्वास्थ्यको लागि राम्रो हुने उहाँ बताउनुहुन्छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?