logo
२०८० चैत्र १५ बिहीवार

कोहलपुरमा गोरखापत्रको परीक्षण छपाई

राष्ट्रिय |
फोटो फिचर |


2021-11-20-50977
पत्रिकाको परीक्षण छपाईको अवलोकन गर्नुहुँदै कार्यकारी अध्यक्ष, निमित्त प्रधान सम्पादकसहितको टोली । तस्बिर - गोविन्द शर्मा 



गोविन्द शर्मा
बाँके, मङ्सिर ४ गते । बाँकेको कोहलपुरबाट गोरखापत्रको नियमित प्रकाशनका लागि भौतिक निर्माण तथा अन्य प्राविधिक काम अन्तिम चरणमा पुगेको छ । शनिबार कोहलपुर प्रकाशनको परीक्षण छपाई सफलतापूर्वक सम्पन्न भएको छ ।
गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, निमित्त महाप्रबन्धक तथा निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईसहितको उपस्थितिमा परीक्षण प्रकाशन सफलतापूर्वक सम्पन्न भएको हो ।
परीक्षण प्रकाशन पश्चात कार्यकारी अध्यक्ष सुवेदीले कोहलपुरमा छिटोभन्दा छिटो गोरखापत्रको प्रकाशन नियमित सुचारुका लागि व्यवहारिक र प्रक्रियागत रुपमा काम सम्पन्न गरी ढिलोमा यही फागुन ७ गतेभित्र प्रकाशन सुरु गरिने जानकारी दिनुभयो ।
‘पश्चिम नेपालका तीन प्रदेशका सबै जिल्लामा सहजरुपमा छिटो भन्दा छिटो गोरखापत्र पाठकमाझ पुगोस् भन्ने संस्थानको चाहना छ’, अध्यक्ष सुवेदीले भन्नुभयो, – ‘त्यसका लागि आईपर्ने अल्झन र समस्या समाधानका लागि पहल गर्नेछौं ।’
ढिलोमा फागुन ७ गतेसम्म प्रकाशन सुरुवात गर्ने लक्ष्य राखिए पनि त्योभन्दा पहिले नै काम सुरुवात हुने वातावारण मिलाउन संस्थान र सूचना तथा प्रविधि मन्त्रालयको टोली निर्माणस्थलमा पुगेको सुवेदीले जानकारी दिनुभयो ।
गोरखापत्रका निमित्त महाप्रबन्धक तथा निमित्त प्रधान सम्पादक भट्टराईले देशको सम्पूर्ण भूभागमा गोरखापत्र पाठकको हात हातमा पुगोस् भन्ने चाहनाले कोहलपुरमा आफ्नै प्रेस जडान गरिएको बताउनुभयो ।
अब पश्चिम नेपालमा पत्रिका प्रकाशन र वितरणसँगै कन्टेन्टले पनि प्राथमिकता पाउँछ, भट्टराईले भन्नुभयो, – ‘गोरखापत्र क्रमशः सबै प्रदेशमा यसरी नै पुग्नेछ ।’
टोलीले शनिबार नै भवन निर्माणलगायत अन्य विषयमा सङ्घीय आयोजना कार्यान्वयन ईकाईका ईञ्जिनियर विजयकेशर खनालसहित अन्य प्राविधिक र निर्माण व्यवसायीसँग आवश्यक जानकारी लिएको छ । प्रेस भवन तथा गोदाम भवनको निर्माण कार्य पूरा हुन बाँकी छ । टोलीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव मुकुन्द शर्मा, श्रीधर ज्ञवाली, गोरखापत्रका प्रशासन प्रमुख ओमप्रसाद भुसाललगायतको सहभागिता थियो ।
कोहलपुर प्रकाशनका लागि गोरखापत्र संस्थानले कोहलपुर ३ मैटहवामा एक विघा जग्गा खरिद गरी निर्माण कार्य सुरु गरेको हो । संस्थानको जग्गामा पहिलो प्याकेजमा पर्खाल निर्माण सम्पन्न भई दोश्रो चरणमा प्रेस भवन र गोदाम भवनको निर्माण सुरु भएको गोरखापत्र पश्चिम क्षेत्र प्रकाशन कार्यालयका प्रमुख तारा बस्यालले जानकारी दिनुभयो ।