logo
२०८१ बैशाख ११ मंगलवार



दोस्रो चरणमा ९६ श्रमिक कोरिया पठाइँदै, १२ हजार प्रतीक्षामा

अर्थ |


दोस्रो चरणमा ९६ श्रमिक कोरिया पठाइँदै, १२ हजार प्रतीक्षामा
फाइल तस्बिर


काठमाडौं, कात्तिक २३ गते । वैदेशिक रोजगारीका लागि दोस्रो चरणमा ९६ जना नेपाली श्रमिक दक्षिण कोरिया जाने हुनुभएको छ । वैदेशिक रोजगार विभागकाअनुसार दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको जानकारी दिनुभयो । अब क्रमशः नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने उहाँले बताउनुभयो ।

कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यही कात्तिकबाट शुरु भएको थियो । जसअन्तर्गत पहिलो चारणमा ४८ जना नेपाली श्रमिक कात्तिक १० गते दक्षिण कोरिया गइसक्नुभएको छ ।

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली श्रमिक जान पाउनुभएको थिएन । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया जान लाग्नुभएको हो ।

सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक कोरिया जाने पर्खाइमा हुनुहुन्छ । दक्षिण कोरियालाई नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।
ईपीयस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेटर कन्ट्रायाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रुपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि कोरोना महामारीका कारण रोकिएका थिए ।

यता रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरिया भाषा परीक्षा फेरि सञ्चालन हुने विभागका महानिर्देशक काफ्लले जानकारी दिनुभयो । यसको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । ‘कोरिया जाने शुरुवात भएसँगै माग बढ्दै गयो भने विभागको तयारी पनि चाहियो । यसका लागि परीक्षाको प्रक्रिया अगाडि बढाएका हौं,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार कोरियाले मानव संसाधन विभाग (एचआरडी)सँग फेरि परीक्षा सञ्चालन गर्नेबारे सहमति भइसकेको छ । तर, परीक्षाको मिति भने तय हुन बाँकी रहेको उहाँले बताउनुभयो । विभागको आवश्यक प्रोटोकल तयारी गरेर परीक्षा गर्ने योजना छ ।

‘परीक्षा सञ्चालनको मितिबारे सार्वजनिक सूचना जारी गर्छौं । अहिले परीक्षा मिति सार्वजनिक गर्ने निष्कर्षमा पुगिसकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘यसबारे हामीले सकारात्मक छलफल अगाडि बढाएका छौं । केही कुरा निरुपण गर्नुपर्ने भएकोले मिति तय गर्न केही समय लाग्छ ।’

२०२१ का लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म सञ्चालन भएको छैन । विभागका अनुसार कोरियाले सो वर्ष पाँच हजारभन्दा बढी श्रमिक लैजाने गरी सिलिङ (कोटा) पठाइसकेको थियो । तर सो वर्ष कोरोना महामारी नियन्त्रणका लागि भएको लकडाउनका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

कोरोना नियन्त्रणका लागि कोरियाले लिएको नीतिका कारण परीक्षा अनिश्चित भएको थियो । सन् २०२० का लागि मात्रै नेपालबाट ९२ हजार श्रमिकले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका थिए । सरकारले २०७६ को अन्तिम साताबाटै कोरोना महामारीका कारण देखाउँदै भाषा परीक्षा पास गरेर भिसा आएका श्रमिकलाई कोरिया पठाउन रोकेको थियो । त्यसपछि महामारीका कारण कोरिया जाने श्रमिक रोकिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?