logo
२०८० चैत्र १६ शुक्रवार



शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित

शिक्षा |
प्रदेश |


शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित



विजयकुमार साह
ढल्केबर, कार्तिक १० गते । धनुषाधामस्थित धनुषा जनता प्राविधिक तथा व्यावसायिक शिक्षा माध्यमिक विद्यालयलमा शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ । विद्यालयमा विद्यार्थीे सङ्ख्या अनुपातमा शिक्षक सङ्ख्या कम भएका कारण विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको हो ।
वि.सं.२०४९ सालमा स्थापना भएको यस विद्यालयमा यस वर्षको शैक्षिक सत्रमा नयाँ र पुराना गरी करिब दुई हजार विद्यार्थी पढिरहेका छन् । विद्यालयमा १९ जना दरबन्दी र आठ जना निजी स्रोतबाट भर्ना गरिएका शिक्षक शिक्षिकाले अध्यापन गराउँदै आएको भए पनि शिक्षकको कमी भएको प्रधानाध्यापक राजेन्द्र साहले बताउनुभयो ।
उहाँले निजी स्रोतबाट शिक्षक भर्ना गरेपनि अझै पनि शिक्षक अभाव भएकाले नियमित कक्षा सञ्चालनमा समस्या भएको स्वीकार गर्दै भन्नुभयो, विद्यालयमा ५० जना शिक्षकको आवश्यकता छ ।
प्रधानाध्यापक साहले नियमित पठ्नपाठ्न सञ्चालनका लागि अझै २३ जना शिक्षक शिक्षिकाको कमी भएको भन्नुभयो । उहाँले शिक्षक उपलब्ध गराइदिन नगरपालिकाको शिक्षा अधिकृतलाई धिरेन्द्र साहलाई पटक–पटक जानकारी गराउँदा पनि शिक्षक व्यवस्थापन चासो नदिएको आरोप लगाउनुभयो ।
बाल विकासदेखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा विपन्न वर्गका विद्यार्थीको चाप भने उच्च रहेको छ । विद्यालयमा शिक्षक नियमित उपस्थिति नहुँदा पनिे नियमित पढाइएमा अप्ठ्यारो भएको विद्यार्थीको गुनासो छ ।
विद्यार्थीहरुले नियिमत पढाई नहुँदा कोही ख्यालठ्टा गरेर बसेका हुन्छन् भने कोही चौरमा खेलेर समय कटाउने गरेको बताउनुभयो । उहाँहरुले अध्यापन गराउने शिक्षक शिक्षिका नै कक्षा कोठामा नआउने गरेको बताउनुभयो । दैनिक ६ घण्टी पढाइ हुनुपर्ने भए पनि मुश्किलले ३–४ घण्टी मात्र पढाइ हुने विद्यार्थीको गुनासो छ ।
ती विद्यार्थीहरुले विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकबाट भर्ना वा अन्य कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था शिक्षा ऐनले नै गरेको भए पनि विद्यालय प्रशासनले भर्ना शुल्क र अतिरिक्त शुल्क असुल्ने गरेको आरोप लगाउनुभयो ।
उहाँहरुले भर्ना शुल्कको नाममा छ हजार रुपियाँसम्म र प्रत्येक विद्यार्थीसँग सहयोग वापत एक हजारका दरले रकम असुलेको जानकारी दिनुभयो । विद्यालय प्रशासनले यसरी अनधिकृत तबरले विद्यार्थीबाट रकम असुल्न थालेपछि विद्यार्थीहरुले विद्यालय प्रशासनसमक्ष विरोध समेत जनाउँदै आएका छन् ।
विद्यार्थी गोविन्द यादवले नियमित र गुणस्तरीय पढाइ हुँदैन, प्रयोगशालामा पर्याप्त समान छैन, शौचालय दुर्गन्धित बनेको छ, यहाँ भवन बाहेक सम्पूर्ण क्षेत्र लथालिङ्ग भएको बताउनुभयो । यस शैक्षिक सत्रमा पढाइ सुरु भएको तीन महिना बित्न लाग्दासमेत अधिकांश विद्यार्थीले पुस्तक पाएका छैनन् । पुस्तक उपलब्ध नहुँदा पढाइमा झनै समस्या हुने गरेको विद्यार्थी यादवले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले नियमित र गुणस्तरीय पढाइकाे माग गर्दै कैयौं पटक कार्यालयमा ताला लगाउने र प्रधानाध्यापकलाई घेराउसमेत गर्दा पढाइमा सुधार नभएको विद्यार्थीको गुनासो छ ।
प्रधानाध्यापक साहले भने विद्यालय व्यवस्थाप समितिको निर्णयअनुसार नै तोकेको रकम सहयोग वापत लिएको भन्नुभयो । उहाँले निजी स्रोतमा भर्ना गरिएका शिक्षक शिक्षिकालाई तलब दिन विद्यार्थीबाट सहयोग वापतको रकम लिएको जानकारी दिनुभयो ।
यता धनुषाधाम नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र साहले कार्यालयबाट हुने सम्पूर्ण सहयोग गर्दै आएको बताउँदै शिक्षक दरबन्दी सङ्ख्या थप्न जिल्ला समन्वय समिति र शिक्षा मन्त्रालयको पहलमा मात्र सम्भव हुने भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?