logo
२०८१ बैशाख ७ शुक्रवार



पुल नहुँदा जोखिमपूर्ण यात्रा

प्रदेश |


पुल नहुँदा जोखिमपूर्ण यात्रा


ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङका ग्रामीण सडकमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगे पनि स्थानीय खोलामा मोटरेवल पुल नभएका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका हुन् ।
गाउँ–गाउँसम्म सडकको पहुँच विस्तारसँगै यातायात सेवा सञ्चालनमा आएपछि स्थानीयलाई लामो तथा छोटो दूरीको यात्रा गर्नलाई भने सहज भएको छ । हाल गाउँ बस्तीदेखि सदरमुकामसम्म स्थानीयले गाउँ घरदेखि नै यातायात सुविधा उपभोग गर्न पाएका छन् ।
यस्तै सदरमुकामदेखि पाँचथर, इलाम, झापा हुँदै प्रदेश राजधानी विराटनगर तथा सङ्घीय राजधानी काठमाडौँंलगायत अन्य क्षेत्रको लामो यात्रामा निस्कनु पर्दासमेत स्थानीयले गाउँदेखि नै सवारी साधन (गाडी) चढ्न पाएका छन् ।

अहिले ग्रामीण क्षेत्रसम्म सडकको पहुँच विस्तार भएपछि यातायात सुविधा उपभोग गर्न पाएका स्थानीयका लागि सुविधासँगै जोखिम पनि बढेको छ । अधिकांश ग्रामीण सडक मापदण्ड अनुसार नबेका कारण साथै स्थानीय खोलामा पुल नहुँदा यात्रा जोखिमपूर्ण रहेको छ ।
निश्चित समयभित्र काम भ्याउनुपर्ने र यातायात सुविधालाई पनि उपभोग गर्नुपर्ने हुँदा यात्रुले ज्यान जोखिममा राखेर यात्रा गर्ने गरेका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका अमर अन्छङ्बोले स्थानीय खोलाहरूमा मोटरेवल पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य हुनुपरेको बताउनुभयो ।

पहाडी क्षेत्रमा बग्ने खोला ठाडो हुने र सामान्य वर्षा हुँदा पनि चाँडै पानीको सतह बढ्ने साथै बाढी आउने भएकाले त्यस्ता खोलामा पुल नहुँदा सबैभन्दा बढी यात्रा जोखिम हुने अन्छङ्बोको भनाइ छ ।
गाउँदेखि सदरमुकामतर्फ आउजाउ गर्नुपर्दा फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको सिमानामा बग्ने फुरुम्बुको सिस्नेखोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका उहाँले बताउनुभयो । यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका स्थानीय दिलकुमार लिम्बूले पनि दुर्गम गाउँसम्म सडकको पहुँच पुगेपछि यातायात सुविधा भएको तर, स्थानीय खोलामा पुल नहुँदा यात्रा भने जोखिम रहेको बताउनुभयो ।

लिम्बूका अनुसार निर्माणाधीन ओलाङ्चुङगोला उत्तर दक्षिण लोकमार्गका कारण लेलेप, तापेथोकजस्ता दुर्गम क्षेत्रका स्थानीयले हाल यातायात सुविधा उपभोग गर्न पाएका छन् । सुविधा उपभोग गर्न पाए पनि फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकस्थित सिसँवा खोला र फक्ताङ्लुङ–३ लिङ्खिमस्थित थिवा खोलामा गाडी तर्ने पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

जिल्लाको पूर्वी सिदिङ्वा र सिरिजङ्घाका गाउँहरूमा पनि क्रमशः सडकको पहुँचसँगै यातायात सुविधा पुग्न थालेको छ । सडक बनेपनि स्थानीय खोलाहरूमा मोटरेवल पुल नहुँदा जोखिम मोलेरै यात्रुले यात्रा गर्ने गरेका छन् । सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाको सिमानामा रहेको तावा खोला तथा सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नं. ६ मेहेलेको सिमानामा बग्ने सुन्तले खोलामा पुल नहुँदा यात्रा जोखिम रहने स्थानीयको भनाइ छ ।
यसरी जिल्लाका अधिकांश स्थानीय तहका ग्रामीण क्षेत्रसम्म सडक विस्तारको क्रमसँगै स्थानीय बासिन्दाले यातायात सुविधा गाउँबाटै पाउन थालेका छन् । यातायात सुविधा प्राप्त गरे पनि ठाउँ–ठाउँमा रहेका खोलाहरूमा पुल नहुँदा स्थानीयले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?