logo
२०८० चैत्र १६ शुक्रवार



शिक्षकको पदपूर्ति छिट्टै

प्राथमिक तहमा सबैभन्दा बढी १२ हजार शिक्षक पदपूर्ति गरिनेछ ।

शिक्षा |
मुख्य समाचार |


शिक्षकको पदपूर्ति छिट्टै


शेषकान्त पण्डित

काठमाडौँ, कात्तिक १० गते । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेकाले नयाँ विज्ञापन तत्काल खोलिने जानकारी दिनुभयो । उहाँका अनुसार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नयाँ पदपूर्तिका लागि सङ्ख्या प्राप्त भएपछि तयारीको काम भइरहेको छ ।
नयाँ पदपूर्ति प्रक्रियाअन्तर्गत प्राथमिक तहमा सबैभन्दा बढी पदमा नयाँ पदपूर्ति गरिनेछ । जसअनुसार १२ हजार प्राविमा पदपूर्ति गरिनेछ । त्यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र माध्यमिक तहमा दुई हजार शिक्षकको पदपूर्ति गरिनेछ ।
विद्यालय तहलाई आधारभूत र माध्यमिक तह भनेर परिभाषित गरिए पनि शिक्षकको नयाँ पदपूर्ति भने पुरानै संरचना प्रावि, निमावि र माविअनुसार नै हुनेछ । प्रावि तहको पदपूर्ति जिल्लागत तथा निमावि र माविको पदपूर्ति प्रदेशगत आधारमा गरिने छ । २०७४/०७५ पछि सार्वजनिक विद्यालयको रिक्त शिक्षक पदमा पदपूर्ति हुन लागेको हो ।

धेरै वर्षसम्म नयाँ शिक्षकको पदपूर्ति हुन नसकेको र धेरैको चासोको विषयसमेत भएकाले आफूहरू पदपूर्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ भन्ने पक्षमा रहेको आयोगका अध्यक्ष रेग्मीले बताउनुभयो ।
हाल आयोगले पदपूर्तिका लागि आन्तरिक तयारीको काम गरिरहेको छ । रिक्त पद सङ्ख्या यकिन गर्ने, पदपूर्तिका लागि प्रतिशत निर्धारण गर्नेलगायतका काम भइरहेको छ । साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसितको समन्वयको कामसमेत भइरहेको जानकारी अध्यक्ष रेग्मीले दिनुभयो ।

शैक्षिक योग्यता पुरानै
आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले शिक्षकको नयाँ पदपूर्ति पुरानै शिक्षा ऐन, नियमावली र आयोगको नियमावलीमा आधारित भएर हुने भएकाले शैक्षिक योग्यता नयाँ कायम हुन नसकेको बताउनुभयो ।
उहाँले सोअनुसार प्रावि, निमावि र माविमा क्रमशः एसईई, प्रमाणपत्र तह र स्नातक तहको उपाधि भएको व्यक्तिले आवेदन दिन सक्नेछ । आधारभूत र माध्यमिक तह भनेर विज्ञापन हुने अवस्था नभएका कारण यस पटक पुरानै शैक्षिक योग्यताअनुसार हुने जानकारी दिनुभयो ।
माध्यमिक तहमा पदपूर्ति भएको शिक्षकले कक्षा ११ र १२ मा समेत अध्यापन गर्नुपर्ने भएकाले स्नातकोत्तर तहको शैक्षिक योग्यता कायम गर्नुपर्ने सुझाव सम्बद्ध क्षेत्रबाट दिइएको थियो ।

सुरुमा बढुवा गर्न दबाब
आयोगका सूचना अधिकारी महरट्ठाले सुरुमा शिक्षकको बढुवाको काम गरेर मात्र नयाँ शिक्षकको पदपूर्ति गर्न आयोगलाई सुझाव आएको छ । शिक्षकको धेरै वर्ष बढुवा नभएका कारण आयोगलाई शिक्षकहरूले समेत दबाब दिएको जनाइएको छ ।
आयोगले पछिल्लो समय २०७५ साल जेठमा शिक्षकको बढुवाको काम अघि बढाएको थियो । त्यसयता बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । अर्कोतर्फ नयाँ शैक्षिक योग्यता भएर रोजगारीको खोजीमा भएका युवाले आफूहरूको सेवा प्रवेश गर्ने उमेर जान लागेको भन्दै दिनहुँ आयोगमा नयाँ शिक्षकको पदपूर्तिको बारेमा सोधखोज गर्ने गरेको जनाइएको छ ।

अनुमतिपत्र नखुल्ने
आयोगले तत्काल नयाँ शिक्षण अध्यापन अनुममित पत्र (शिक्षक लाइसेन्स)को परीक्षा नलिने भएको छ । नयाँ अध्यापन अनुमति पत्रको परीक्षा लिँदा शिक्षकको नयाँ पदपूर्ति प्रक्रियामा विलम्ब हुने भएकाले तत्काल अध्यापन अनुमति पत्रको परीक्षा नलिइने र पदपूर्तिकै प्रक्रिया सुरु गरिने तयारी गरिएको हो ।
अध्यापन अनुमति पत्रको परीक्षामा लाखौँ विद्यार्थी सहभागी हुने र त्यसको नतिजा प्रकाशन गर्न पनि आठ÷नौ महिना लाग्ने भएकाले नयाँ पदपूर्ति नै गर्ने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?