logo
२०८० चैत्र १५ बिहीवार



सुदूरपश्चिम सरकार राहत लिएर बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै

खुला |
प्रदेश |


सुदूरपश्चिम सरकार राहत लिएर बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै


भवानी ऐर
गोदावरी (कैलाली), कात्तिक ६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट राहत लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा जाने तयारी गर्नुभएको छ । बर्षाले निम्त्याएको बाढीपहिरो र डुवान प्रभावितलाई सुदूरपश्चिम सरकारले राहत, उद्धार तथा क्ष्तिपुर्तिका लागि २५ करोड रुपियाँ छुट्याएको थियो । आईतबारदेखि राहत बाँड्न सुरु गर्ने बताएको छ ।

यसअघि विपद्को प्रारम्भमै आंसिकरुपमा केही राहत सामग्री वितरण गरेको प्रदेश सरकारले क्षतिको विवरण संकलन गरेर राहत वितरण अगाडि बढाउने तयारी गरेको छ । ‘आज हेलिकप्टरमार्फत प्रदेशका पहाडी जिल्ला डोटीको आदर्श गाउँपालिका, बैतडीको ढुङ्गाड र बझाङको थलारा लगायतका अति प्रभावित स्थानमा राहत सामग्री पठाइएको मुख्यमन्त्री भट्टका स्वकीय सचिब प्रेम कुँबरले जानकारी दिनुभयो ।

‘रहात पुर्याएपछि सम्बद्ध सरकारी टोलिको नेतृत्व गर्दै मुख्यमन्त्री भट्ट आइतवार प्रभावित क्षेत्रमा जाने कार्यक्रम छ’ उहाँले भन्नुभयो– ‘सडक भत्केर यातायात बन्द भएको जिल्लामा ईन्धन (पेट्रोलियम पदार्थ) को अभाव भएकाले त्यो पनि आपुर्ति गर्नेतर्फ मुख्यमन्त्रीले पहल लिनुभएको छ ।’

यसअघि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले क्षतिको विवरण संकलन गरिसकेको बताउँदै शनिबार बिहान राहत लिएर हेलिकप्टर प्रभावित क्षेत्रमा जाने बताउनुभएको थियो । एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीसँग छलफल गर्नुभएको थियो ।

विगतमा राहत बाँड्दा कसैले पटक–पटक पाउने र कसैले एक पटक पनि नपाउने समस्या देखिएको भन्दै मन्त्री जोशीले यसबेला सरकारसँग सहकार्य गरेर मात्रै राहत वितरण गर्नुपर्ने बताउनुभयो । ‘वास्तविक पीडितले राहत पाउनुपर्छ तर टाठाले मात्र पाउनुहुँदैन उहाँले भन्नुभयो । त्यसो हुन नदिन यसपाली एकद्वार प्रणालीबाट राहत वितरण गरिने छ उहाँले भन्नुभयो ।

‘रेडक्रसले राहत दिन्छ भने हामी जनतालाई रेडक्रसले नै दिएको हो भन्छौँ, अन्य संस्थाले राहत सामग्री उपलब्ध गराउनुभएको छ भने नतालाई प्रष्ट भनिदिन्छौ’ मन्त्री जोशीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोमा परी ४३ जनाको ज्यान गएको थियो । २२ जना बेपत्ता छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?