logo
२०७८ मंसिर १३ सोमवार

   कोरोना अभिघात विशेष/ सूत्रकथा  



कार कोरोना

कला |


कार कोरोना


 ध्रुवचन्द्र गौतम

१. अक्सिजन
अस्पतालमा अक्सिनको कमी भयो । इन्टर्नमा राखिएकी एक सेविकाले एक रोगीलाई बताई “अक्सिजन आउन अझै २–३ दिन लाग्छ ।”
रोगीले भन्यो– “म आत्तिएको छु, सास फेर्न गाह्रो भयो । म एक्लै छु ।”
युवती सेविकाले भनी– “नआत्तिनुस् हामी छँदैछौँ नि ?”
केटी रोगीको मालिस गर्न थाली रोगी जुरुक्क उठ्यो र हातखुट्टा चलाउन थाल्यो । सेविका त्यसलाई घचेट्दै उठी । एक्कासि ऊ स्वाँस्वाँ गर्न थाल्यो । भनी– “तपाईंले जे गर्नु भयो त्यो अनुचित हो । त्यसलाई ‘मेलोस्टेसन’ भन्छन् । म रिपोर्ट गर्छु ।
रोगीले भन्यो– “गर्नुस् । म त फरार हुँदैछु ।”
रोगी फरार हुनुअघि समातियो । त्यसले बयानमा भन्यो– “मैले शरीरमा अक्सिजन बढ्छ कि भनेर त्यसो गरेको हुँ, अन्यथा उद्देश्य थिएन ।”
डाक्टरले भन्यो– “मूर्ख, रोगी मर्छ मात्र, अक्सिजन बढ्दैन यस्तोमा ।”
त्यसलाई अस्पतालमै सजाय दिइयो । सेविकालाई उसको धैर्यका लागि स्थायी र प्रमोट गरियो ।
सेविका सोच्न थाली खुसी हुनु कि नहुनु यसमा ?
अन्त्यमा उसले आफ्नो ड्युटी ‘फिमेल वार्ड’ मा सारी ।

२ जवाफ
एकजनाले केही नलागेर सन्तानको उपचारार्थ आफ्नो जग्गाजमिन, सटर सब बेचिदियो । कोरोनामुक्त भएर ती सब विदेश गएर उतै बस्न थाले । यो आफू, खेत किन्ने व्यापारीको गाउँतिर गएर व्यापारीको हली भएर बस्न थाल्यो ।
पत्रकारहरूले हली र व्यापारीलाई एउटै प्रश्न गरे ।
“तपाईं हली किन हुनुभयो ?”
व्यापारीले सोधे– थोरै समयमा यत्रो सम्पत्ति कसरी जोर्नुभयो ः”
दुवैको एउटै जवाफ थियो– “कोरोनाले ।”

३ हात धोएको
उ साथीको घर गयो । साथी ‘बाथ’ मा रहेछ । धेरै बेर भएपछि आगन्तुकले धेरै बेर ढोका ढकढकाएपछि ढोका खोल्यो । साथीले सोध्यो–“बाथ लिएको ?”
“होइन हात धोएको ।” बारम्बार हात धुनु भन्न थाले । हात धोयो, ओभानो पा¥यो, फेरि धोयो । तिमी नआएकी भए, अझै धुन्थेँ ।”
साथीले सन्तुष्ट भएर भन्यो– राम्रो पालन गर्दा रहेछौ ।”
“म पनि अब घर जान्छु र हात धुन्छु ।”

४ लकडाउन
“लकडाउन त कायमै छ, होइन ?”
“विद्यालय, सिनेमा हलमा बन्द छन् ।”
“अन्त ?”
“स्वास्थ्य नियमको पालन गर्दै खोल्नु, भनेको छ । पचास प्रतिशत त पालन भएकै होला ?”
“कसरी ?”
“खुलेका त छन् नि ?”

५ कोभिड फ्री
मास्क लगाएर बसेको हाकिमलाई एक कर्मचारीले भन्यो– “हजुर अहिले कति ठाउँलाई कोभिड फ्री बनाइँदै छ । हाम्र्रो अफिसलाई पनि बनाउनु प¥यो ।”
हाकिमले भन्यो– “म देशैलाई ‘कोभिड फ्री’ बनाउने अभियानमा लागेको छु ।”
कर्मचारीले प्रसन्न हुँदै सोध्यो– कसरी सर ?
“भोलिदेखि देशका सारा अफिस आफूलाई ‘कोभिड फ्री’ घोषित गर्दै छन् ।”
कर्मचारी यस्तो अचुक उपाय सुनेर खुसीले ताली बजाउन थाल्यो ।

६ नाउँ
“अल्फा, बिटा, डेल्टा, गामा, कोरोनाका कति भेरिएन्ट होलान् ?,”
विज्ञले भन्यो– अलजेब्रा, जोग्राफी, अन्य साइन्टिफिक पुस्तक खोजिँदैछ, भेरिएन्टलाई नाउँ दिन त्यतिन्जेलमा कोरोना जाला ।”
“गएन भने ?”
विज्ञले एक पुस्तक पल्टाउँदै भन्यो– अरूतिरको पुस्तक खोजिन्छ । नाउँ त दिनैप¥यो नि ?”

७ मिटिङ
बाटोमा लडिरहेको एक व्यक्तिले कारवालालाई भन्यो– “हजुर वैद्यहरू अनुसार– “मेरो आयु अब एक घण्टा मात्र छ, नारीले भन्छ रे । मलाई कमसे कम, दाह मेसिनसम्म पु¥याइदिनुस् ।”
भलाद्मीले घडी हेर्दै भन्यो– “यो कार मेरो होइन । मेरो जरुरी मिटिङ छ । एक घण्टामा त तिमी हिँडेरै पुग्छौ । हिँडेर अक्सिजन बढ्यो भने तिमी बाच्न पनि सक्छौँ ।”
त्यति भनेर ऊ गयो । मिटिङ त कोरोनाको तेस्रो लहरसँग । बोल्न पाइन्न । मास्कभित्र त्यसको मुखमा टेप टाँसिएको थियो । केटीले बोल्न पाएकी भए, खबर यस्तो बन्थ्यो– कोरोनापीडित नाबालिग केटीको बलात्कारपछि हत्या ।

८ टकडाउन
हाकिमहरू, तास खेल्दै गफ गरिरहेका थिए । ती कोरोनाले चिन्तित भएरै खेलेका हुन् । एक उच्च कर्मचारी आएर भन्यो– “सर घण्टा घण्टामा बढेको रिपोर्ट आउन थाल्यो, के गर्ने ?”
भोलिपल्ट सम्बद्ध हाकिमले जारी ग¥यो– “यसैगरी जनस्वास्थ्य नियमको पालन नगरी हिँड्यो, आउँदो १५ गतेदेखि कडा कफ्र्यु लगाइनेछ । ”
तर १५ गते कडा कफ्र्यु लागेन । हाकिम स्वयं कोरोनाग्रस्त भएकाले । उसलाई नयाँ भेरियन्टले छोएको रहेछ । विज्ञहरूले त्यसको नाउँ राखे, ‘टकडाउन भेरिएन्ट ।’

९ मित्रता
दुई अभिन्न मित्रमा रन्कारन्की प¥यो । हातखुट्टा चलाइयो । एकले अर्कालाई सरापे– “तँमा कोरोनाका सारा भेरिएन्ट पसून् ।”
अर्कोले भन्यो– “तँलाई तेस्रो लहरको प्रथम कोरोना लागोस् ।”
दुवै कोरोनाग्रस्त भएर अस्पतालको दुई छुट्टाछुट्टै बेडमा लडे । दुवै एकअर्कालाई देखेर हाँसे ।
ती दुवैलाई कोरानाको चिन्ताभन्दा, केको प्रसन्नता थियो भने, तिनको श्राप फलित भएको थियो । दुवै पुनः अभिन्न मित्र बने ।

१० कार कोरोना
एक सुनौलो रङको, आजसम्म नदेखिएको कार नगरमा देखा प¥यो । एक दिव्यजस्ती युवती कारमा बसेकी थिई । त्यसले लगाएको वस्त्र अभूतपूर्व थियो । ट्राफिक प्रहरी, अन्य कार चालक तथा नगरका यावत् मन्त्रीहरूसमेत आदरणीय कारलाई सडकका दुवैतिर उभिएका थिए । कार यति प्रभावकारी थियो कि त्यसलाई रोक्ने त छाडिदिऊँ सबै अदर गर्दै हात जोड्थे । कसैलाई त्यो अर्को लोकको लाग्थ्यो । कोहीले भन्यो, त्यसको मूल्य अर्ब रुपियाँ हो ।
युवती अस्पताल गई । जाँच गराई निगेटिभ आयो । युवतीको आदेशमा कुनै जीवनधारी समान त्यो कारको पनि परीक्षण गरियो, पोजिटिभ आयो । त्यसलाई क्वारेन्टाइनमा राख्ने निधो गरियो ।
सुनिन्छ, अब त्यसका लागि ३५ करोड ७८ लाखको लागतमा ‘क्वारेन्टाइन ग्यारेज’ तत्काल बनाउन भनी निकासा गरिएको छ । 

मधुपर्क, कात्तिक २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?