logo
२०७८ मंसिर १३ सोमवार

    कोरोना अभिघात विशेष/ संस्मरण   



कोभिड प्रभाव : कहाँ पात, कहाँ प्राण !

कला |


कोभिड प्रभाव : कहाँ पात, कहाँ प्राण !


निरूपा प्रसून


मान्छेहरू भन्ने गर्छन्, ‘रुखहरूका पात झर्छन् र फेरि नयाँ पालुवा पलाउँछन् । मानिसको जीवनक्रम पनि त्यस्तै हो । हरेक मिनेट नयाँ जीवनले धरतीमा पदार्पण गर्छ र त्यसरी नै कतिले इहलीला समाप्त गरेर धरतीबाट विलीन हुन्छन् ।
जन्म र मृत्युको कुरा गर्दा पातसँग तुलना गरेको देख्दा मलाई भने उदेक लागेर आँउछ । रुखको त जरा यथावत् हुन्छ । हाँगाबिँगा पनि हुन्छन् । बस्, पातसम्म न झर्ने हो । पात झर्नुलाई मान्छेको मृत्युसित तुलना गर्न मिल्छ त ? कहाँ पात, कहाँ जीवन । म मेरो अस्तित्वभित्र कतै रहेको प्राण भनिने कुनै अमूर्त कुरालाई बडो जतनले सम्हाल्दै घरअगाडि उभिएका रुखबाट पात झरेको हेर्दैछु । भयभित पनि भइरहेकी छु । झरेको पात जति हेर्छु मनभित्र उति धेरै डर बढिरहेको छ । म किन यसरी डराएकी ? के मैले पनि पातको नियति भोग्नुपर्छ कि भन्ने आभास भएको हो मलाई ?

म सामान्य अवस्थामै थिएँ । ज्वरो आएको थियो । एक दिन सिटामोल खाएपछि सन्चो भइहालेँ । मौसम बिस्तारै गर्मीबाट जाडोतिर उन्मुख हुन लागेकाले त्यसैको प्रभाव पो हो कि भन्ने पनि सोचेँ । तर सचेत हुनु जरुरी थियो । त्यसैले ज्वरो आएदेखि आफूलाई आइसोलेसनमा राखिसकेकी थिएँ । अफिस पनि जान छाडेकी थिएँ ।

शरीरमा एक किसिमको आलस्य व्याप्त भएको थियो । छिनछिनमा शरीर तन्काउन मन लाग्थ्यो । तर कोभिडको कुनै सङ्केत थिएन मलाई । चार पाँच दिन त्यतिकै बसेँ । एक साँझ बाहिर टहलिँदै थिएँ । अदुवाको पातको बास्ना मलाई मनपथ्र्यो । अक्सर सुध्थेँ । त्यो दिन पनि सुघेँ । फिटिक्कै बास्ना आउँदैन त ! हतपतभित्र आएर क्रिम सुघेँ । झन्डुबाम पनि सुघेँ । अहँ, केहीको गन्ध आएन । पफ्र्युमको बास्ना भने अलिअलि थाहा पाएँ । कोरोना नै भयो कि भनेर मनमा चिसो पसिहाल्यो । सामान्य रुघा लाग्दा पनि बास्ना त हराउँछ भन्नुभयो आमाले । तर मनभित्र संशयको भाव जागृत भइसकेको थियो । भोलिपल्ट बिहान उठ्दा रिँगटा लागिरहेको थियो । खाना खाइसकेपछि आँटै गरे आफैँ स्कुटी चलाएर टिचिङ हस्पिटल गएँ । मेरो ताल देखेर आमा डराउनुभयो र मैले पर्दैन भन्दाभन्दै पनि आमा पनि छिमेकी दाइको मोटरसाइकलमा मेरो पछिपछि आउनुभयो । आखिर आमाको मन न हो ।
पीसीआर गरेर आएँ । दुई चार जनालाई भनेकी थिएँ । आतिनु पर्दैन नेगेटिभ आउँछ भनेकी थिएँ । गन्ध हराएकाले म चाहिँ आधा मात्र आशावादी थिएँ ।

पाँच बजेतिर एसएमएस आउँछ भनेका थिए । पाँच पच्चीस हुदाँसम्म आएन । मैले मेरो मोबाइल नम्बर गलत पो लेखेँ कि भन्ने लागेर बिल हेर्न मात्र के लागेकी थिएँ, एसएमएस आयो । पोजिटिभ ।
निमसा (भदै) लाई भनेँ । निमसाले आमालाई भनी । आमाले सुरुमा पत्याउनुभएन । माथि घरबेटी दाइलाई तलबाटै चिच्याएर जानकारी दिएँ । अरू दुई चार जनालाई फेसबुक मेसेन्जरमा जानकारी दिएँ ।

कोरोनाले अझै मेरो शरीरभित्र आफ्नो रौद्र रूप प्रदर्शित गरेको थिएन । म सामान्य स्थितिमा थिएँ । गन्ध नआउनु कुनै समस्या हो भन्ने नै लागेको थिएन । जब पोजिटिभ रिपोर्ट आयो, त्यसपछि रोगको असरभन्दा कोरोनासँग जोडिएका अनेक हल्ला र भ्रमहरूले मेरो मनमस्तिष्कलाई बिथोल्न थाल्यो । म त एसएमएस हेर्नासाथ लल्याकलुलुक भएकी थिएँ । शरीरमा भएको सम्पूर्ण शक्ति सकिएजस्तो भएको थियो । रोगले भन्दा चिन्ताले चितामा पु¥याउला जस्तो भएको थियो ।

राति सात आठ पटक ट्वाइलेट जानु प¥यो । त्यो रात एक झमट पनि ननिदाई छर्लङ्ग बिहान भएको थियो । रातभर ननिदाएका आँखामा अलिकति पनि निन्द्रा थिएन, यो ताजुब लाग्ने कुरा भइरहेको थियो पहिलो पल्ट । आमालाई र निमसालाई मबाट कोरोना स¥यो कि भन्ने आशङ्काले पनि मलाई तनाव दिइरहेको थियो । उकुसमुकुसमा अर्को रात पनि बित्यो । मलाई छाती दुख्ने, जिउ दुख्ने, ज्वरो आउने जस्ता कोभिडका लक्षणहरू देखिएको थिएन तर गन्ध भने हराएको थियो । बिस्तारै स्वाद पनि हरायो । एक दुई दिनपछि कमजोरी पनि अनुभव हुनथाल्यो । डराउँदिनँ भन्दाभन्दै आफै भित्रभित्रै डराइरहेकी हुँदिरहिछु । छटपटी र अत्यासले मुटुको धड्कन तीव्र भएजस्तो लाग्थ्यो । अनि हतारहतार अक्सोमिटर औँलामा च्याप्थेँ । अक्सिजनको लेभल ठीकठाक हुन्थ्यो ।

वास्तवमा म त्रासले नै कमजोर भइरहेकी थिएँ । हुन त कोभिडमा सबैलाई एकनासको असर नहुने रहेछ । तर समाजमा यसबारे व्याप्त भ्रम र अफवाहहरूले मभित्रको आत्मबललाई नै कमजोर बनाइदिएको थियो । पोहोर साल कोरोनाबारे हल्ला चलेदेखि नै म केही सचेत हुन थालेकी थिएँ । किनमेल गर्दा फिर्ता आएको पैसा पनि धोएर सुकाउँथे । विज्ञ र सरकारले कोभिडबाट सुरक्षित हुने जेजे तरिका सिकाइरहेका थिए, मैले ती सबै अवलम्बन गरिरहेकी थिएँ । तर मैले भ्याक्सिन भने लगाएकी थिइनँ । किनभने गर्भ रहेपछि मेरी साथीलाई नियमित स्वास्थ्य जाँच गरिरहेको उसको डाक्टरले नै गर्भवती हुनुअघि कोभिडको भ्याक्सिन लगाउन हुन्न भनेको छ भनेर मलाई सुनाएकी थिई । त्यसपछि यो कुरा मेरो दिमागमै गाडिएर बस्यो ।

वास्तवमा म कृत्रिम गर्भाधानमार्फत बच्चा पाउने सोचमा थिएँ । त्यसका लागि मानसिक तयारी पनि गरिरहेकी थिएँ । छिट्टै डक्टरसित यसबारेमा सरसल्लाह गर्छु भन्ने पनि सोच थियो । विवाह नगरी बच्चा पाउने कुरा हामी कहाँको सामाजिक सोचअनुसार त्यति सजिलो कहाँ थियो र ! त्यसैले पनि विगत चार पाँच वर्षदेखि आफूभित्र यसबारेमा विमर्श गरिरहेको भए पनि अझै हिम्मत जुटिसकेको थिएन । तर पनि साथीकै कुरामा विश्वास गरेर मैले कोभिडको भ्याक्सिन लगाएकी थिइनँ । यस्तो कुरा कति जनालाई प्रस्टीकरण दिनु भनेर कतिजनालाई भने भ्याक्सिन लगाइसकेको छु भनेर ढाँटेकी पनि थिएँ । तर यथार्थ कुरा थाहा पाएपछि भने मैले धेरैबाट मिडियामा कार्यरत भएकाले अरूलाई भ्याक्सिन लगाउने कुरामा उत्प्रेरित गर्नुपर्नेमा आफैले भ्याक्सिन नलगाएको भएर भनेर धेरै परिचितहरूले मलाई हप्काए पनि ।

नहुनुपर्ने कुरा भई नै सकेको थियो । मलाई भने भ्याक्सिन नलगाएकोमा उस्तो पछुतो नलागेको भए पनि आफूलाई कहाँबाट कसरी र कोबाट यो भाइरस स¥यो होला भनेर सोचमग्न भने भएकी थिएँ । यसअघि मलाई कोभिडसित बढ्तै सचेत भएको देखेर साथीभाइ र आफन्तहरूले भन्थे, ‘जति धेरै नाटीकुटी ग¥यो, उति सर्छ । यतिविधि नि गर्नु हुन्न है !’ तर जतिसुकै सचेत भए पनि म भाइरसबाट जोगिन भने सकिनँ ।

आफूलाई कोभिड भयो भनेर मैले फेसबुकमा पोस्ट गरेकी थिइन् । चिनजानका धेरैलाई थाहा दिएकी थिइनँ । जतिलाई थाहा भयो, ती सबैबाट माया र हौसला पाएकी थिएँ । उनीहरूको मेरो इन्बक्समा आएका म्यासेजहरूले मलाई आत्मबल प्राप्त भैरहेको थियो । तनावका बीच पनि आनन्दको अनुभूति गरिरहेकी थिएँ । तर मेरो हालखबर बुझ्ने क्रममा केहीले कोभिडका बिरामीहरू कहाँ, कति र कसरी मरे भनेर अत्याउने खालको समाचार सुनाउँथे । यस्तो सुन्नुपर्दा मनभित्र तुरुन्तै नैराश्यको भाव आउँथ्यो । आफूलाई आफ्नो मुटुको गति तीव्र भएजस्तो लाग्थ्यो । अनि त फेरि हतारहतार चोर औँलामा अक्सिमिटर लगाइहाल्थेँ । तर अक्सिजन लेभल, सामान्य नै देखिन्थ्यो । बिरामीलाई केके कुरा सुनाउने र केके कुरा नसुनाउने भन्ने कुरामा हाम्रो समाजमा अझै पनि राम्रो सचेतता छ जस्तो लाग्दैन ।
००
अँ, म यो लेखको सुरुवातमा पातको कुरा गर्दै थिएँ । त्यो क्रमलाई फेरि यहाँ जोड्छु । हामी बस्ने घरअगाडि दुई चारवटा रुख छन् । बिहानीको पारिलो घाममा भिटामिन डी हुन्छ भन्ने कुरा सुनेकी थिएँ । त्यसैले घाम लागेको बेला म बाहिर निस्किन्थेँ । कमजोरीले गर्दा धेरैबेर उभिइरहन नसक्ने भएकाले पिर्कामा बस्थेँ । हावा नै नचल्दा पनि रुखका पात (फूलका पनि) एकनासले झरिरहेका हुन्थे ।
एक दिन पात झरेको हेर्दाहेर्दै मलाई अचानक डर लाग्यो । किनभने जिन्दगी पात जस्तै हो भनेर सानैदेखि सुन्दै आएकी थिएँ । अनि सोच्न विवश हुन्थेँ, यही पात जस्तै कतै मेरो प्राण पखेरु उड्ने त होइन ?

म मेरो एकथान प्राणका लागि भयभित भएकी थिएँ । मान्छेले आफूलाई कति धेरै माया गर्दोरहेछ भन्ने कुरा मैले त्यतिबेलै थाहा पाएकी हुँ । सद्दे हुँदा कतिपटक मरुँमरुँ पनि लाग्थ्यो । तर जब मृत्युको छाया आफू नजिक आएको आभास भयो, त्यतिबेला भने मर्छु कि भन्ने डर प्रबल भएर आउँदोरहेछ । कहिलेकाहीँ भने लाग्थ्यो, ‘आमाको काखमा छु । मरेँ भने पनि आनन्दले सास जानेछ ।’ तर यो एक निमेषलाई झुल्किने भावुकता मात्र थियो । तुरुन्तै मृत्युको भयले गाँजिहाल्थ्यो र जीवनप्रति अथाह मोह उत्पन्न भइहाल्थ्यो ।

अहिले पनि कतै झरेको पात देख्दा म भावुक भइहाल्छु तर आफूभित्रको भावुकतालाई मनभित्र हावी हुन दिन्नँ अचेल । सोच्छु, जिन्दगी मौसमअनुसार फेरिने पात कहाँ हो र ? हाम्रो जिन्दगी त एउटा सन्देश हो, जसले हरबखत हामीलाई भनिरहन्छ– हरेक पल जीवनलाई वसन्तमय र ऊर्जावान् बनाउनुपर्छ ।
म त्यसैले अचेल आफ्नै जीवनमा वसन्त पर्खिरहेकी छु । 

 

मधुपर्क, कात्तिक २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?