logo
२०८१ बैशाख १३ बिहीवार



सर्लाहीको हुलाकी सडक यो वर्ष बन्छः मन्त्री यादव

राष्ट्रिय |
प्रदेश |


सर्लाहीको हुलाकी सडक यो वर्ष बन्छः मन्त्री यादव


जनार्जन खत्री
सर्लाही, कात्तिक १ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक यो वर्ष निर्माण भएरै छाड्ने बताउनुभएको छ । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका यादवले सोमवार बिहान सदरमुकाम मलङ्गवामा सञ्चारकर्मीसँग कुरागर्दै हुलाकी सडकको काममा अब विलम्ब नहुने बताउनुभएको हो ।

यसअघि बजेट विनियोजन गर्दा प्रदेश सरकार अन्तर्गत परेको भए पनि यो वर्ष भने सङ्घीय सरकार मातहत राष्ट्रिय गौरवको आयोजनामा परेकाले सडक बन्नेमा आफू विश्वस्त रहेको मन्त्री यादवले बताउनुभयो ।

सर्लाहीको दुई नम्बर निर्वाचन क्षेत्रका सङ्घीय सांसद एवं जनता समाजवादी पार्टीका नेता मन्त्री यादव आफै पनि हुलाकी सडकको निर्माणकार्य अघि बढाउन माग गर्दै केही महिनाअघि सदरमुकाम मलङ्गवास्थित शहीदचोकमा धर्नामा बस्नुभएको थियो । उच्चपदस्थ व्यक्तिहरु धर्नामा बसेर दबाब दिँदा समेत हुलाकी सडकको निर्माण कार्यले गति लिन सकेको थिएन ।

पश्चिम बलरादेखि पूर्व सङ्ग्रामपुरसम्मको हुलाकी सडक पानी पर्दा हिलाम्मे र घाम लागेको समयमा धूलाम्मे हुँदा स्थानीयलाई कष्टकर किसिमले यात्रा गर्नुपर्ने बाध्यता छ । सञ्चारकर्मीसँगको कुराकानीमा कृषिमन्त्री यादवले मलखादको समस्या र उखु किसानको पीडा सम्वोधन गर्नेगरी आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री भएपछि असोज २८ गते जिल्ला भ्रमणमा आउनुभएका यादव पार्टी कार्यकर्तासँग भेटघाटमा ब्यस्त रहनुभएको छ । सोमवार मलङ्गवा, मानपुरलगायतका स्थानमा कार्यकर्तासँग भेट गरी मङ्गलवार गृहगाउँ बसन्तपुर हुँदै काठमाडौंं फर्किनु हुने जसपाका नेता एवं कविलासी नगरपालिकाका प्रमुख कौशल किशोर यादवले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?