logo
२०८० चैत्र १५ बिहीवार



झाडापखाला नियन्त्रणमा

राष्ट्रिय |


झाडापखाला नियन्त्रणमा


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते । स्वास्थ्य तथा तथा जनसङ्ख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको बताएको छ । नगरपालिकामा झाडापखालाबाट बिरामी परेका ८८५ जनामध्ये ८१९ जना निको भइसकेका छन् । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै २५ जना बिरामीको उपचार जारी रहेको जनाएको छ । यस्तै कपिलवस्तु जिल्ला अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएका ४० जना बिरामी पनि निको भएर डिस्चार्ज भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले हालसम्म झाडापखाला र बान्ताका कारण चार जनाको मृत्यु भएको बताउनुभयो । मृत्यु भएकामध्ये ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको हो । यस्तै सात वर्षीय बालकको निजी क्लिनिकमा, पाँच वर्षीया बालिका र दुई वर्षीय बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । प्रवक्ता डा. पौडेलले १८ असोजदेखि झाडापखाला फैलिएको कृष्णनगर ७, ८ र ९ वडामा प्रतिकार्यको काम जारी रहेको बताउनुभयो । जसमा स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)लगायतका साझेदार सङ्घ–संस्थाले समन्वयमा काम गरिरहेका छन् ।

उक्त क्षेत्रबाट डब्लूएचओको समन्वयमा विभिन्न मितिमा सङ्कलन गरिएका दिसाका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र लुम्बिनी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?