logo
२०८० चैत्र १६ शुक्रवार

   दशैँको किनमेल   



भीडभाडसँगै चोरीको डर

व्यक्तिले सुरक्षा तथा सावधानी अपनाए अपराध हुँदैन ।

मुख्य समाचार |


भीडभाडसँगै चोरीको डर


देवबहादुर कुँवर

काठमाडौँ, भदौ १७ गते । चाडबाडका लागि किनमेलको हतारमा हुनुहुन्छ भने सावधानी अपनाउनुहोस्, नत्र भने तपार्ईंको हतारले नजिकिँदै गरेका दशँै, तिहार र छठलगायतका चाडबाड खल्लो बन्न सक्छ ।
चाडबाडको समयमा सबै सामान किनमेल गर्नुपर्ने हतारका कारण आवश्यक सावधानी तथा सतर्कता अपनाउन नसक्दा पीडा र दुःखद घटना हुने गरेका छन् । प्रहरी अधिकारीका अनुसार चाडबाडको बेला अपत्यारिलो अपराधमा घटना हुने गर्छन् । किनमेल गर्न बजार जाने हतारसँगै घरका झ्याल, ढोका राम्रोसँग लगाउन बिर्सिने, नगद बोकेको झोला तथा पर्स गाडीमै छुट्ने र सामान हराउनेलगायतका समस्याले चाडबाड खल्लो बनाउने गरेको पाइएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौर घर तथा परिवारका लागि सबै सामान चाडबाडमै किन्नुपर्ने बाध्यताले सर्वसाधारण हतारमा हुँदा चोरीदेखि सामान हराउने र दुर्घटनाको समस्या बढ्ने बताउनुहुन्छ ।
घरका झ्याल, ढोका राम्रोसँग नलगाउँदा दिउँसै चोरी हुने, सार्वजनिक सवारीमा यात्रा गर्दा सामान छुट्ने र पाकेटमारी समस्या अन्यभन्दा चाडबाडको समयमा बढी हुने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “स्वयम् व्यक्तिले सुरक्षा सतर्कता तथा सावधानी अपनाए अपराध हुँदैन ।”
प्रहरी प्रधान कार्यालयको एक तथ्याङ्कअनुसार व्यक्ति स्वयम्ले सुरक्षा सतर्कता र सावधानी अपनाउन सकेमा ९० प्रतिशत अपराध नियन्त्रण हुन्छन् ।
“पैसा हुनेलाई किनमेल गर्न र चाडबाड मनाउन समस्या हँुदैन । तर, नहुनेलाई अपराध गरेरै भए पनि मनाउनुपर्ने बाध्यता हुन्छ,” महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङ भन्नुहुन्छ, “अपराध नियन्त्रणका लागि नै प्रहरीको सक्रियता बढाउनुपरेको हो ।” “कतिपय पेसेवर हँुदैनन् । भेटिहालेमा टप्प उठाएर लैजाने हुन्छन्,” उहाँले भन्नुभयो, “चाडबाडलाई महँगो र भड्किला बनाउनुभन्दा क्षमताअनुसार मीठो–मसिनो खाएर मनाउनु राम्रो हुन्छ ।”
महानगरीय प्रहरीले काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाका लागि चाडबाडलक्षित विशेष सुरक्षा योजना यसअघि नै लागू गरिसकेको छ । सो योजनामा चोरी, डकैती, लुटपाट, पाकेटमारी, डाँका, अपहरण, चन्दा असुलीलगायत अपराध नियन्त्रण पहिलो प्राथमिकतामा राखिएको छ ।
त्यस्तै लागूऔषध, ठगी, कालोबजारी, महँगी, खाद्य मिसावट, दुर्घटना, जुवा नियन्त्रण पनि प्राथमिकतामा राखिएको छ । पहिलो प्राथमिकतामा रहेको मुख्य अपराध नियन्त्रणका लागि करिब पाँच हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अन्य अपराध नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, प्रहरीलगायत सम्बद्ध सरोकार निकायबीच सहकार्य गरी बजार अनुगमन जारी रहेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल विकृतिविरुद्ध नागरिक नै सचेत हुनुपर्ने बताउनुहुन्छ ।

अत्यासलाग्दो भीड
सरकारले कोभिड–१९ सङ्क्रमण महामारीको जोखिम कायमै रहेकाले भीडभाड नगर्न निर्देशन दिइएको छ । तर, काठमाडौँको असन–इन्द्रचोक, न्युरोड–खिचापोखरी, सुन्धारा क्षेत्रमा शनिबार पनि अत्यासलाग्दो भीड लाग्न थालेको छ ।
सर्वसाधारण र सवारी जाम बढेसँगै महानगरीय ट्राफिक प्रहरी वृत्त जनसेवाले चारपाङ्ग्रे निजी तथा सार्वजनिक सवारीसाधनको न्युरोडभित्र प्रवेशमा कडाइ गरेको छ । राष्ट्रिय व्यापार सङ्घ न्युुरोडका महासचिव वैकुण्ठ दाहाल सडक फुटपाथमा भीड लागे पनि भित्री पसल खाली रहेको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?