logo
२०८० चैत्र १५ बिहीवार



नेपाललाई सघाउने प्रतिबद्धता

अर्थ |


नेपाललाई सघाउने प्रतिबद्धता


गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १२ गते । दक्षिण एसियाका लागि विश्व बैङ्कका उपाध्यक्ष हार्टविग सेफरले कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्न नेपाललाई सघाउने प्रतिबद्धता दोहो¥याउनुभएको छ । पाँच दिने नेपाल भ्रमण सम्पन्न गरी फर्कनु भएपछि विश्व बैङ्कले जारी गरेको विज्ञप्तिमा उक्त प्रतिबद्धता दोहो-याइएको उल्लेख छ ।
नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्नुभएको थियो । त्यस क्रममा उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तीव्र विस्तार तथा आर्थिक पुनरुत्थानमा जोडसहितको कोभिड प्रतिकार्यको सराहना गर्नुभएको थियो ।
“२०७२ सालको भूकम्पलगायतका विविध आघातबाट थप सशक्त रूपमा माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीतिसहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो,” सेफरले भन्नुभयो । उहाँले विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैङ्कले गर्व गरेको र नेपालको हरित, उत्थानशील र समावेशी पुनरुत्थानका लागि सरकार, विकास साझेदारहरू, निजी क्षेत्र, नागरिक समाज र अन्य प्रमुख सरोकारवाला मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाउनुभयो ।
नेपालको हरित, उत्थानशील र समावेशी विकाससम्बन्धी यही असोज ७ गते आयोजना गरिएको उच्चस्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौँ घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैङ्क नेपाल सरकार र विकास साझेदारहरूको साथमा सहभागी भएको थियो । उक्त घोषणापत्रले ग्रिड भिजनप्रतिको नेपाल सरकारको प्रतिबद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरू, संस्थागत कार्यलगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनासहित साझेदारहरूको सहयोगलाई एकताबद्ध गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?