logo
२०८० चैत्र १६ शुक्रवार



आठ पालिकामा नेतृत्व चयन, दुईमा सहमतिको प्रयास जारी

प्रदेश |


आठ पालिकामा नेतृत्व चयन, दुईमा सहमतिको प्रयास जारी


बागलुङ, असोज ११ गते । नेपाली काँग्रेसको जारी पालिकाधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला, बडिगाड, ताराखोला र काठेखोला गाउँपालिकामा नयाँ नेतृत्व चुनिएको हो ।

बागलुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेस बागलुङका अनुसार ढोरपाटनमा धनबहादुर कायत ‘कल्याण’ र जैमिनी नगरपालिकामा प्रेम सापकोटा सभापतिमा निर्वाचित हुनुभएको छ । यी दुई नगरपालिकामा पनि सर्वसम्मतको प्रयास असफल भएपछि अन्तिममा मतदानबाट नेतृत्वको टुङ्गो लागेको हो ।

बडिगाड, निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भएको जनाइएको छ । बडिगाडमा कृष्ण गुरुङ, निसीखोलामा सूर्यबहादुर घर्ती, तमानखोलामा लीलाबहादुर छन्त्याल, ताराखोलामा कमलापती पाठक र काठेखोलामा यामदत्त कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ ।

गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा भने अझै नेतृत्व चयन हुन सकेको छैन । सर्वसम्मतका लागि अहिले पनि छलफल चलिरहेको र सहमति नजुटे आज निर्वाचन हुने काँग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?