logo
२०८० चैत्र १६ शुक्रवार



भारतीय गोलभेडाले बजार लिएपछि प्युठानका किसान मर्कामा

अर्थ |
प्रदेश |


भारतीय गोलभेडाले बजार लिएपछि प्युठानका किसान मर्कामा


सलिम मियाँ
बिजुवार, असोज ९ गते । प्युठानमा गोलभेंडाको उत्पादन बढेपनि बजार नपाउँदा किसान मर्कामा परेका छन् । भारतीय गोलभेंडाले नेपाली बजार ओगटेपछि स्थानीय किसानले बजार नपाएका हुन् । माण्डबी गाउँपालिका २ मर्काबाङका किसान कोमनाथ योगीले आफूले उत्पादन गरेको गोलभेडा दश रुपियाँ किलोमा समेत बिक्री हुन नसकेको बताउनुभयो ।

मुख्य सिजनमै बिक्री नभएपछि करिब ५ रोपनी क्षेत्रफलमा फलेको गोलभेडा बारीमै कुहिन थालेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा सबैले गोलभेडा फलाएका छन् । कसैले किन्दैनन् ।” स्मार्ट कृषि कार्यक्रम लागूभएको मर्काबाङ गाउँमा मात्रै झण्डै एक सयजना किसानले व्यवसायिक रुपमा गोलभेडा खेती गरेको योगीले बताउनुभयो । गोलभेंडाको मुख्य सिजन भएकाले किसान अहिले गोलभेंडा टिप्ने र बजारसम्म पु¥याउन व्यस्त छन् ।

गोलभेंडाले मूल्य कम पाउँदा लगानी पनि उठाउन चुनौती रहेको किसानहरुको गुनासो छ । त्यस्तै, अर्का किसान घनबहादुर घर्तीले भारतीय गोलभेडा बजारमा आएपछि स्थानीय उत्पादनले भाउ नपाएको बताउनुभयो । उहाँले भन्नुभयो,’ ‘भारतीय टमाटर ट्रकभरी बोकेर प्युठान आइपुग्छ तर यहाँका व्यापारी स्थानीय उत्पादन खरिद गर्दैनन् ।’

गत बर्ष यतिबेला किलोको ४० रुपियाँसम्म बिक्री भएको गोलभेडा यो वर्ष सस्तिएर किलोको १० रुपियाँमा झरेको कृषकको गुनासो छ । गोलभेडाका थोक व्यापारी मुक्तीप्रसाद पौडेलले भारतीय उत्पादन सस्तोमा भित्रिएका कारण यस वर्ष भाउ बिग्रिएर किसानलाई घाटा भएको बताउनुभयो । जिल्लाको मर्काबाङसहित माझकोट, गेजबाङ, मरन्ठाना र झिमरुक उपत्यका क्षेत्रमा प्रशस्त गोलभेडा खेती हुनेगरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?