logo
२०८१ बैशाख ८ शनिवार



महङ्गी र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीब्र पार्न गृहमन्त्रीकाे निर्देशन

राष्ट्रिय |


महङ्गी र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीब्र पार्न गृहमन्त्रीकाे निर्देशन


देवबहादुर कुँवर
काठमाडौँ, असोज ७ गते । गृहमन्त्री बालकृष्ण खाँणले दशै, तिहार, नेपालसम्वत र छठलगायत चाडपर्वमा हुने सक्ने दैनिक उपभोग्य वस्तुको महङ्गी र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीब्र पार्न निर्देशन दिनुभएको छ ।

चाडपर्वलक्षित बजार अनुगमन सम्बन्धी बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा मन्त्री खाँणले महङ्गी र कालोबजारीका अतिरिक्त म्याद गुज्रेका खाद्य सामाग्री तथा औषधिको विक्री वितरण गरेको पाइएमा कडा कारवाहीको चेतावनी दिनुभयो ।

‘आम नेपाली नागरिकको हित र जीवन रक्षा सरकारको प्रमुख दायित्व भएकाले त्यो पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले चाडपर्वको मौका छोपी नागरिकको स्वास्थ्य र जीवनसँग खेलाची गर्नेलाई कडा कारवाहीको निर्देशन दिनुभयो ।

‘उपभोग्य वस्तुको आफूखुशी मूल्य बढाउने, महङ्गी गर्ने, मिसावट गर्ने, कालोबजारी गर्ने र म्याद गुज्रेका सामाग्री विक्री वितरण दण्डनीय कार्य हो’ उहाँले भन्नुभयो – ‘यसको नियन्त्रणका लागि बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिन्छु ।’

गृह प्रशासन अन्तरगत तीनवटै सुरक्षा संगठनका प्रमुखहरु, उपत्यकाको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीलगायत सम्वद्ध अधिकारी सहभागी बैठकमा मन्त्री खाँणले उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन र यातायात सेवा सहजीकरण गर्न निर्देशन दिनुभयो ।
उहाँले चाडपर्वको समयमा उपभोग्य वस्तु सुपथ मूल्यमा बेच्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

‘अन्य बेलामा जस्तो नाफा नलिई सुपथ मूल्यमा सामाग्री विक्री गर्न व्यवसायीलाई मेरो आग्रह छ,’ मन्त्री खाँणले भन्नुभयो, ‘ अनुगमनका क्रममा बढी मूल्यमा बेचेको पाइएमा कडा कारवाही हुन्छ ।
उहाँले सवारी दुर्घटना न्यूनीकरणमा यातायात व्यवसायी तथा चालकहरुलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

वर्षातका कारण भत्किएको सडकहरु दसैँ अघि मर्मत गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी तत्कालै बजेट छुट्याउन आग्रह गरेको उहाँले स्मरण गराउनु्भयो ।
गृह सचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनका लागि सुरक्षाकर्मी, उपभोक्ता–अधिकारकर्मी र व्यवसायीहरुबीच त्रिपक्षीय सम्बन्ध जरुरी रहेको बताउनुभयो ।
जनस्वास्थ्यमाथि खेलवाड गर्नेमाथि कारवाही गर्न बजार अनुगमन तीब्र पारिने बताउनुहुँदै उहाँले भन्नुभयो– ‘व्यवसायीहरुले गरेको ठगीका विरुद्ध उपभोक्तालाई उजुरी दिन आग्रह गर्दछु ।’
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद गुज्रिएका सामाग्री विक्री वितरण गरेको पाइएमा सशक्त कारबाहीको चेतावनी दिनुभयो ।
वस्तुको गुणस्तरमा पनि कुनै कमजोरी भएको पाइएमा कारवाही हुने जानकारी दिनुहुँदै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले वस्तुको आपूर्ति व्यवस्थापन र कालोबजारी विरुद्ध अनुगमन तीब्र पारिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?