logo
२०८० चैत्र १६ शुक्रवार



गुणस्तरहीन सामग्री प्रयोग गरी वडा कार्यालयको निर्माण हुँदै

खुला |


गुणस्तरहीन सामग्री प्रयोग गरी वडा कार्यालयको निर्माण हुँदै
फाइल फोटो


देवरामप्रसाद यादव

सप्तरी, असोज १ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा निर्माणाधीन ६ नम्बर वडा कार्यालय भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेको पाएको छ । वडा कार्यालयको बन्दै गरेको भवनमा गुणस्तरीय सामग्रीको प्रयोग नगरेको पाइएको हो ।

तिलाठी कोइलाडी गाउँपालिकाको १० लाखको लागतमा निर्माणाधीन भवनमा इँट्टा, बलुवा, गिट्टी सिमेन्टलगायतका निर्माण सामाग्री गुणस्तरहीन प्रयोग गरेको स्थानीयहरुले बताएका छन् । फुसको घरमा संचालनमा रहेको वडा कार्यालयको पक्की भवन निर्माण थालिएको छ, स्थानीय मनोज यादवले भन्नुभयो, “भवन निर्माणमा ३ नम्बर इँटा, बलुवा गिट्टीको प्रयोग गर्नुको साथै सस्तो मूल्यका सिमेन्ट लगाएको छ, ।”

स्थानीयले वडा कार्यालय निर्माणमा व्यापक रुपले अनियमित्ता गरेको आरोप लगाएका छन् । १० लाखको लागतमा निर्माण शुरु भएको भवनमा कमसल निर्माण सामग्री प्रयोग गरी कमाउने धन्दामा उपभोक्ता समिति, जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारी लागेको स्थानीयहरुले जनाएका छन् ।

कार्यालय भवनको फाउण्डेशन निर्माणमै तीन नम्बर इट्टासहित निर्माण सामाग्री लगाएका छन् स्थानीय केशवकुमार साहले भन्नुभयो, “दुई तल्ला भवनको योजना रहेकाले गुणस्तरीय सामग्रीको प्रयोग भएमा मात्र सुरक्षित हुनसक्छ । सुरक्षित भवन निर्माण गर्नेभन्दा कमाउने धन्दामा उपभोक्ता समिति जनप्रतिनिधि र कर्मचारी लागेका छन् ।”

तिलाठी कोइलाडी गाउँपालिका ६ का वडा अध्यक्ष गोबिन्द यादवले निर्माणाधीन कार्यालयमा गुणस्तरहीन टाको प्रयोग भएको स्वीकार गर्नुभएको छ । उहाँले तीन नम्बर इँटालाई छाँटेर गाउँपालिकाले उपलब्ध गराएको इस्टिमेट बमोजिम इँट्टा प्रयोग गर्ने बताउनुभयो । वडाध्यक्ष यादवले गाउँपालिकाबाट प्राविधिक खटाई इस्टिमेटमा उल्लेख भएको निर्माण सामग्री प्रयोग गर्न उपभोक्तालाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६–७७ मा शिलान्यास गरी शुरु भएको कार्यालय भवनमा यसअघि समेत कमसल सामाग्रीको प्रयोग गरिएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् । आफ्नै वडा कार्यालयमा इँट्टासहितका निर्माण सामग्री गुणस्तरहिन प्रयोग गरेको भन्दै वडा अध्यक्ष यादवको आलोचना भएको  छ ।

यता गाउँपालिकाका इन्जिनियर भाष्कर सिंहले आफू जिल्लाबाहिर रहेकोले के कस्ता सामग्रीको प्रयोग भएको हो जानकारी नभएको बताउनुभयो । कति लागतमा भवन निर्माण भएको भनी बुझ्न खोज्दा त्यसबारे आफुलाई जानकारी नभएको उहाँले बताउनुभयो । गाउँपालिकाले वडा कार्यालय निर्माणलाई बहुवर्षीय योजनामा राखी प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?