logo
२०८० चैत्र १६ शुक्रवार



नेता नेपाल समूहलाई मूल घरमा फर्किन अध्यक्ष ओलीको आग्रह

राष्ट्रिय |


नेता नेपाल समूहलाई मूल घरमा फर्किन अध्यक्ष ओलीको आग्रह


काठमाडौं, भदौ ३१ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी नै एकीकृत कम्युनिष्ट पार्टी भएकाले नेता माधवकुमार नेपालसहित नेताहरुलाई मूल पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।

एमाले काठमाडौंद्वारा विहीबार यहाँ आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले सो आग्रह गर्नुभएको हो । कम्युनिष्ट पार्टीको सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाएर देश समृद्ध बन्नै नसक्ने उहाँले दाबी गर्नुभयो । एमाले सरकारबाट बाहिरिए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियान जारी रहेको उहाँले चर्चा गर्नुभयो ।

एमालेमा माधवकुमार नेपाल रहुन्जेल पार्टीभित्र गुटबन्दीमात्र बढेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले अब पार्टी गुटविहीन भएको दावी गर्नुभयो । अलोकतान्त्रिक शक्तिहरुलाई जोडेर नेता नेपालले एमालेविरुद्ध षडयन्त्र गरेको उहाँले आरोप लगाउनुभयो । आफ्नो स्वार्थकालागि नेता नेपालले पार्टीको जीवनसँग खेलवाड गर्नुभएको उहाँले बताउनुभयो । व्यक्तिगत स्वार्थका लागि अरुको भविष्यसँग खेलवाड गर्ने काम नेता नेपालले गर्नुभएको उहाँले टिप्पणी गर्नुभयो ।

गठबन्धन सरकारले देशको विकास सम्भव नरहेकाले कम्युनिष्ट एकताको सरकारले मात्र देशलाई आर्थिकरुपले समृद्ध बनाउन सक्ने उहाँले बताउनुभयो । नेता नेपालले आवेगमा आएर बाटो विराए पनि गल्ती सच्याएर पार्टीमा फर्किए सम्मान गर्ने उहाँले चर्चा गर्नुभयो । बजेटमा समस्या एमालेका कारण नभई गठबन्धनका कारण समस्यामा आएको उहाँले बताउनुभयो । आगामी निर्वाचनबाट एमाले पुनः शक्तिशाली भएर आउने र सरकार बनाउने उहाँले दावी गर्नुभयो ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हामीसित नीति, सिद्धान्त र विचार भएकाले एमालेलाई राम्रो बनाउन सक्छौं भन्नुभयो । पार्टीमा केही समस्या देखिएकाले निर्मम ढङ्गले समीक्षा गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । जनताले विश्वास गरेर जनमत दिए पनि त्यसको सदुपयोग गर्न नसक्नु कम्युनिष्ट दलको कमजोरी भएको उहाँले बताउनुभयो । नेतादेखि कार्यकर्तातहसम्म सोच, विचार र व्यवहारमा रुपान्तरण आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।

नेता माधवकुमार नेपालले लिएको बाटो सही नभएको उहाँले बताउनुभयो । यो बेला फुटको होइन, जुटको राजनीति आवश्यक रहेको चर्चा गर्नुहुँदै उपाध्यक्ष शाक्यले भन्नुभयो, “आफूले त्याग गरेर, जीवन दिएको पार्टीलाई लत्याएर नयाँ पार्टी खोल्नु सही हुँदै होइन, आउनुस् फर्केर सँगसँगै अघि बढौं ।”

महासचिव ईश्वर पोखरेलले विचारमा थप व्यवस्थित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । बुझाईमा एकरुपता कायम गरेर अघी बढ्दै एमालेलाई नयाँ उचाइमा पु-याउनमा लाग्न उहाँले पार्टी पङ्तिलाई आव्हान गर्नुभयो । भीडकोरुपमा रुपान्तरण होइन, शक्तिमा रुपान्तरित हुन आवश्यक रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले यसअघि पार्टी अस्तव्यस्ततामा फँसे पनि अब पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नुभयो ।

योग्यहरुमध्येबाट योग्यतमको छनोट गरेर नेतृत्वमा पु-याउन आवश्यक रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “पार्टीभित्रको एकतालाई सुदृढ गर्नमा ध्यान दिन अनिवार्य छ, यो शब्दमा मात्र प्रिय बोलेर हुँदैन, व्यवहार र काममा नै पुष्टि गर्नुपर्छ ।” एमाले जेठ २ गतेको एमालेमात्र नभएर, एकता प्रक्रियासहित विकसित एमाले हो भनेर बुझ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापाले कम्युनिष्ट एकताको अभियान एमालेले अघि बढाएको भए पनि केही समस्या आएको बताउनुभयो । गणतान्त्रिक आन्दोलन सफलतामा पुगे पनि कम्युनिष्ट एकताको काम अझै बाँकी रहेको उहाँले चर्चा गर्नुभयो । पश्चगमन र प्रतिक्रान्तिकारीलाई अपदस्त गरेर आफूहरु अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?