logo
२०८० चैत्र १५ बिहीवार



पूर्वी नेपालमा चार सय केभी प्रसारण लाइन बन्ने

अर्थ |


पूर्वी नेपालमा चार सय केभी प्रसारण लाइन बन्ने


गोपालचन्द्र सुवेदी

काठमाडौँ, भदौ २४ गते । पूर्वी नेपालका सम्भावित ठूला तथा साना जलविद्युत् आयोजनाको बिजुुली राष्ट्रिय प्रसारणमा ल्याउने गरी नेपाल विद्युत् प्राधिकरणले अरुण–इनरुवा–तिङ्ला–मिर्चैया ४०० केभी प्रसारण लाइन निर्माणलाई प्राथमिकताको योजनामा समावेश गरेको छ । तीन खण्डमा रहने यो प्रसारण लाइन र सम्बन्धित सब–स्टेसन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा यो अध्ययन सकिएको हो ।

सो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण स्वामित्वमा दूधकोसी, माथिल्लो अरुण, किमाथाङ्का, अरुण–४ जस्ता ठूला आयोजना छन् । यीसहित अन्य निर्माणाधीन आयोजनासमेतलाई ध्यानमा राख्दै यो प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

“विभिन्न ठूला साना आयोजनाको विद्यत्लाई राष्ट्रिय प्रसारणमा ल्याउने गरी हामी यो आयोजना निर्माणमा लागेका हौँ,” उहाँले भन्नुभयो, “एक वर्षभित्र सबै अध्ययन सक्ने र सोअनुरूप वित्तीय तथा अन्य व्यवस्थापनका काममा प्राधिकरण जुट्नेछ । ”
करिब ३४५ किलोमिटर लामो ४०० केभी क्षमताको यो प्रसारण लाइनलाई विभिन्न सब–स्टेसनमार्पmत जोडने गरी तीन खण्डमा निर्माण गर्न खोजिएको छ । यसअनुसार पहिलो खण्ड १०० किलोमिटर इनरुवा–न्यु अनारमनी, दोस्रो खण्ड १३० किलोमिटर इनरुवा अरुण र तेस्रो खण्ड अरुण दूधकोसी–तिलङ्गा ११५ किलो मिटरका छन् । हरेक खण्डसँगै आधुनिक सब–स्टेसनहरू पनि बन्नेछन् ।

प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार यो प्रसारण लाइनको वातावरणीय र सामाजिक प्रभावको अध्ययनका लागि भारतीय कम्पनी बापकोससँग सम्झौता पनि भइसकेको छ । सम्भाव्यता अध्ययन र विस्तृत डिजाइनका काम भने इएलसी इलेक्टोकन्सल्टले जारी राखेको छ । सबै खाले अध्ययन एक वर्षभित्र टुङ्ग्याएर वित्तीय व्यवस्थापन गर्ने सोच प्राधिकरणको छ । प्रसारण लाइनको पावर फ्लो अध्ययन जारी रहेको प्राधिकरणले जनाएको छ ।

एक वर्षभित्र अध्ययनका कार्य सकेको त्यसको सात वर्षमा प्रसारण लाइन तयार गर्ने आफ्नो योजना रहेको घिसिङले बताउनुभयो । “विद्युत् आयोजनाहरू विकास भएर उत्पादन थाल्ने समयसम्ममा प्रसारण लाइन पनि तयार हामीले तयार गर्नेछौँ,” घिसिङले भन्नुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?