logo
२०८० चैत्र १५ बिहीवार



तीनकुने पुल नयाँ डिजाइनमा बनाइने

राष्ट्रिय |


तीनकुने पुल नयाँ डिजाइनमा बनाइने
फाइल तस्बिर


सञ्चिता घिमिरे

काठमाडौँ, साउन २९ गते । झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (बाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन प्रालिको लापरबाहीका कारण अलपत्र बनेको थियो ।

सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो ।


सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल दुई वर्षपहिले देखि नै सम्पन्न भएर सञ्चालनमा छ । यो पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनः निर्माण सुरु गर्न परेको योजनाले जनाएको छ ।

पहिलेको कम्पनीले बनाएको संरचनामध्ये एउटा फाउन्डेशन स्वीकार गरेर बाँकी सबै भत्काएर नयाँ ठेक्कामार्फत निर्माण हुने योजनाले जनाएको छ । नयाँ डिजाइन र नयाँ वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर निर्माण अघि बढाउन लागिएको योजनाका सूचना अधिकारी अशोक यादवले बताउनुभयो । उहाँका अनुसार पहिले जसरी नै अहिले पनि निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एन्ड बिल्ड) मार्फत निर्माण अघि बढाउन लागिएको हो । सो पुल पुल डिजाइन र निर्माण गरी झण्डै ४२ महिना लाग्ने उहाँले बताउनुभयो । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत् लगायतका संरचना हटाउन समय लागे पनि अहिले त्यो समस्या हटिसकेको छ । उहाँले भन्नुभयो, “निर्माणस्थल खाली नै भएकाले व्यवसायीले सरासर काम गर्न सक्नेछ ।”

दुई सातापहिले बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता हुन प्रक्रियामा नै झण्डै दुई महिना लाग्ने योजनाले जनाएको छ । यसअघि पप्पु कन्सट्रक्शनसँग रु. २१ करोडमा ठेक्का भएको थियो । अहिले ठेक्का आह्वान भएकाले कति रकममा कबुल हुन्छ त्यसैका आधारमा यसको बजेट थाहा हुने उहाँले बताउनुभयो ।

योजनाले पहिलेको कम्पनीले बनाएको संरचना सबै मान्यता नदिएको भत्काउने निर्णय गरेको सूचना अधिकारी यादवले बताउनुभयो । कम्पनीले दुई ‘फाउन्डेशन स्ट्रक्चर’ बनाएकामा एउटा काम लाग्ने भएकाले स्वीकार गरिएको र अर्काे भत्काउने निर्णय गरेको थियो ।

यसअघि कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लागेको छ । कम्पनीले प्राविधिक नभई काम गर्ने ढलानलगायत निर्माणको काम गरेको सूचना अधिकारी यादवले बताउनुभयो । उन्तीस मिटर पाइल राख्नुपर्नेमा २५ मिटर राखेकाले सच्याउनभन्दा पनि कम्पनीले मानेको थिएन । पप्पुको स्वीकार भएको संरचनाको भुक्तानी भइसकेको उहाँले बताउनुभयो । त्यसबाहेक भत्काउनुपर्ने संरचनाको रकमसमेत निर्माण व्यवसायीबाट नै असुल गर्ने नियम छ । उहाँले भन्नुभयो, “कति रकम असुल गर्नुपर्ने हो भनी यकिन गरेर चिट्ठी लेखिनेछ ।”

यसअघि निर्माण व्यवसायीले लापरबाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न नसकेको सूचना अधिकारी यादवले बताउनुभयो । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । उहाँले भन्नुभयो, “अहिले पनि कम्पनी कालोसूचीमा नै छ ।”

यसअघि पनि पुल निर्माण कम्पनी आफैँले डिजाइन गर्ने (डिजाइन एन्ड बिल्ड) गरी भएको सम्झौता भएकामा अहिले पुनः सोही प्रक्रियाबाट निर्माणमा जान लागिएको हो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजनाले जनाएको छ । नयाँ ठेक्कामा जाँदा पनि पुनः डिजाइन गर्नुपर्ने भएकाले साढे तीन वर्ष लाग्ने सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।

सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । कार्य सम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको छ । आवश्यक रकम पेस्की पहिले कम्पनीलाई उपलब्ध गराइएकामा त्यो पनि फिर्ता भइसकेको छ ।

यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले काठमाडौँको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहर सुन्दरता बढाउन भन्दै ‘आर्स एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो । मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बिजुलीबजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढ्न सकेको थिएन ।

नेपालमा नयाँ प्रविधिबाट सो पुल निर्माण गरिने गरी सम्झौता गरिएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । अरू पुलको तुलनामा यसको अवधि लामो हुने विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाको सवारी चाप बढी रहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । सडक विस्तार भए पनि त्यहाँ पर्ने धोबीखोला र बाग्मती पुल साँघुरो भएकाले सवारी चाप कम नभएको भन्दै विभागले मुख्य पुलको दुवैतर्फ पुल निर्माणको योजना अघि सारेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?