logo
२०८१ बैशाख ८ शनिवार



सेनामा नयाँ साङ्गठनिक संरचना

राष्ट्रिय |


सेनामा नयाँ साङ्गठनिक संरचना


भउचप्रसाद यादव

काठमाडौँ, साउन २ गते । नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कार्यान्वयनमा ल्याएको छ । सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुनर्संरचना शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको छ ।
नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्ड लागू गरिएको छ । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडाँैं उपत्यकाका लागि एक गरी जम्मा चारवटा केन्द्रीय कमान्ड लागू गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाले यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरेको छ । नयाँ संरचना लागू भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काठमाडौँ उपत्यकाका एउटा गरी आठवटा पृतना शुक्रबार खारेज भएको छ ।
जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ संरचनाको शुभारम्भ गर्दै चारवटै नयाँ केन्द्रीय कमाण्डका कमाण्ड सेनापतिहरूलाई ‘कमाण्ड झण्डा’ हस्तान्तरण गर्नुभयो ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले राष्ट्रिय सुरक्षा नीति, २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना र नेपाली सेनाको दीर्घकालीन सोच, २०८७ लाई आधार मानेर सङ्गठनको पुनर्संरचना गरिएको बताउनुभयो ।
नयाँ संरचनाअनुसार पूर्वमा धनकुटा हिले, मध्यमा पोखरा, पश्चिममा सुर्खेत र उपत्यकामा एउटा सैनिक कमाण्ड स्थापना गरिएको छ । उपत्यका कमान्डको मुख्यालय नारायणहिटी परिसरमा कायम गरिएको छ । नयाँ कमाण्डको स्थापनासँगै कमाण्डको नेतृत्वमा बाहिनीहरू र बाहिनीको मातहतमा गण तथा गुल्म हुनेछन् ।
सैनिक प्रवक्ता पौड्यालले चार जना कमान्ड सेनापति तोकिएको जानकारी दिनुभयो । जसअनुसार पूर्वी कमान्ड सेनापतिमा उपरथी सन्तोषकुमार ढकाल, मध्य कमान्ड सेनापतिमा उपरथी विनयविक्रम राणा, पश्चिम कमान्ड सेनापतिमा उपरथी प्रेम शाही र उपत्यका कमान्ड सेनापतिमा उपरथी अशोकराज सिग्देललाई जिम्मेवारी दिइएको छ ।
सैनिक कमाण्डको स्थापनापछि जङ्गी अड्डाका केही अधिकार कमाण्ड हेडक्वाटरमा प्रत्यायोजन हुनेछ । सैनिक प्रवक्ता पौड्यालले कमाण्डको स्थापनापछि आर्मी मुख्यालयले रणनीतिक र राष्ट्रिय महìवका सुरक्षाका विषयहरू ध्यान केन्द्रित गर्ने, सैनिक कमाण्ड मुख्यालयले अपरेसनल कार्य गर्ने र बाहिनीअन्तर्गतको गण र गुल्मले ‘ट्याकटिकल’ काम गर्ने गरी नेपाली सेनाको काम अगाडि बढ्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?