logo
२०८० चैत्र १६ शुक्रवार



नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनीयताको सपथ (भिडियाे सहित)

मुख्य समाचार |


नवनियुक्त प्रधानमन्त्री  देउवाद्वारा पद तथा गोपनीयताको सपथ (भिडियाे सहित)


देवबहादुर कुँवर
काठमाडौं, असार २९ गते । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मङ्गलबार पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सभापति देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । सर्वोच्च अदालतको असार २८ गतेको परमादेश अनुसार राष्ट्रपति भण्डारीले देउवालाई सो पदमा नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीको नियुक्तिपत्रमा संविधानको उक्त धारा उल्लेख नगरिएकोप्रति सभापति देउवाले असहमति जनाएपछि साँझ ६ वजेलाई निर्धारित शपथग्रहण कार्यक्रम करीव दुई घण्टा ढिलो गरी शुरु भएको थियो ।
प्रधानमन्त्री देउवासँगै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसालले पनि राष्ट्रपति समक्ष मन्त्री पदको पद तथा गोपनियताको शपथ लिनुभयो ।
नवनियुक्त मन्त्रीहरु खाँण र कार्की काँग्रेस पार्टीबाट, शर्मा र भुसाल नेकपा (माओवादी केन्द्र) बाट हुनुहुन्छ ।
शपथग्रहण समारोहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र ) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपाका अध्यक्ष उपेन्द्र यादव, काँगे्रसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वपधानमन्त्री डा.बाबुराम भट्टराईलगायत शीर्ष नेताको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री देउवा शपथग्रहण सकिएलगत्तै लैनचौरस्थित शहीद स्मारकमा पुगी अमर शहीदहरूप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्नुभयो ।
यसैबीच, प्रधानमन्त्री देउवाले साँझै सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको छ । उहाँले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन, कोरोना विरुद्धको खोप, मनसुन जन्य विपद व्यवस्थापनलगायत १० बँुदे निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
यस्तै, गृहमन्त्री खाणले पनि सिंहदरवारमा गृह मन्त्रालयको कार्यभार सम्हाल्दै शान्ति सुरक्षा, सुरक्षित जनजीवन, मानव अधिकारको रक्षा, कोरोना संक्रमण नियन्त्रण र मनसुनजन्य प्राकृतिक विपद व्यवस्थापनमा सक्रिय रहने प्रतिक्रिया दिनुभयो ।
वि.सं.२०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुनुभएका देउवा पाँचौं पटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँ २०४८ सालदेखि डडेलधुराबाट निरन्तर निर्वाचित सांसद हुनुहुन्छ ।
२०५२ साल भदौं २७ गते ४९ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउवा २०५८ साल साउन ११ गते दोस्रो, २०६१ साल जेठ २४ गते तेस्रो र २०७४ साल जेठ २४ मा चौथो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।
निवर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नुभएको थियो ।
त्यसका विरुद्धमा नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासहितका १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा परेको रिटको पैmसला सोमबार आएको हो ।
त्यसमा कांग्रेस संसदीय दलका नेता देउवालाई असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी भएको थियो । सोही अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
दिनको ४ बजे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८÷३÷२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’’
पछि सो पत्रलाई सच्याएर नेपालको संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा शपथ गराइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?