logo
२०८० चैत्र १६ शुक्रवार



पहिलो फ्लाइओभर बन्ने भयो

राष्ट्रिय |


पहिलो फ्लाइओभर बन्ने भयो


भउचप्रसाद यादव

ललितपुर, असार २९ गते । व्यवस्थित शहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुरस्थित चक्रपथसँगैको ग्वार्कोचोकमा फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण हुने भएको छ ।
सो ठाउँमा फ्लाइओभर निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बोलपत्र आह्वान गरिएको सडक विभागले जनाएको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सोमबार बोलपत्र आह्वान गरेको छ ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सहज आवागमनका लागि राजधानीका विभिन्न ठाउँमा फ्लाइओभर निर्माण गर्ने क्रममा ग्वार्कोचोकको फ्लाइओभर निर्माणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो ।
सो ठाउँमा फ्लाइओभर निर्माणका लागि यससअघि नै विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । ठेक्का पाएको कम्पनीले सम्झौता भएको दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेछ । उहाँले चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिने निर्णयअनुसार चक्रपथको ग्वार्कोसहित सातदोबाटो र एकान्तकुना चोकमा फ्लाइओभर निर्माण गरिने जानकारी दिनुभयो ।
सातदोबाटो र एकान्तकुनामा निर्माणका लागि अहिले अध्ययन भइरहेको छ । फ्लाइओभर चार लेनको हुनेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन र ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्नेछन् । फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ ।
यसअघि त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चापलाई कम गर्न जापानी सहयोग नियोग (जाइका)ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा फ्लाइओभर बनाउने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । जाइकाको प्रतिवेदनअनुसार यो फ्लाइओभर निर्माणका लागि जङ्गी अड्डा र त्रिभुवन विश्वविद्यालयको केही जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?