logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



नदी किनार क्षेत्रमा बाढी र पहिरोको जोखिम बढी

राष्ट्रिय |


नदी किनार क्षेत्रमा बाढी र पहिरोको जोखिम बढी


मुकुन्द गैरे, दृश्यमा सागर बस्नेत/ मनोजरत्न शाही /केशब गुरुङ्ग
काठमाडौं, असार ३ गते । नेपालमा मनसुनको सुरु भएसँगै देशका विभिन्न क्षेत्रमा वाढी पहिरोका प्रकोप देखा परेका छन् । सिन्धुपाल्चोक र मनाङ्गमा आएको वाढी र पहिरोले ठूलो धनजनको क्षति भएको छ । देशका विभिन्न ठाउँका बस्तीहरु मनसुनका कारणले जोखिममा रहेका भूगर्भविद् बताउनुहुन्छ ।खोलाहरु मिसिने दोभानका बस्तीमा वाढी पहिरोको धेरै जोखिम हुने भूगर्भविद् रञ्जनकुमार दाहाल बताउनुहुन्छ ।


मेलम्ची र मनाङबाट पाठ सिक्नु पर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । मनाङ र मेलम्चीमा वाढी नै आउने गरी ठूलो पानी परेको देखिँदैन, पहिरो गएर खोला थुनिएको कारण वाढी आएको उहाँको भनाइ छ । अव विभिन्न परियोजना बनाउँदा त्यस माथिको जलाधारमा अध्ययनसँगै त्यसले पार्ने असर बारे अध्ययन गर्ने र जलाधारमा लगानी गर्नुपर्ने बेला आएको बताउनुहुन्छ ।

मेलम्ची जस्तै देशमा विभिन्न खोलाको किनारमा बसेका शहरहरु जोखिममा रहेको उहाँ बताउनुहुन्छ । अघाखाँचीको सन्धिखर्क, धादिङबेशी, दोलालघाट, बेनी, खुकोटलगायतका बस्ती उदाहरणको रुपमा बढी वाढीको जोखिममा रहेको उहाँ बताउनुहुन्छ ।

अव बस्ती बसाउँदा खोलाको दोभान र खोलाको बग्ने दुरी बारे अध्ययन गरेर मात्र घर बनाउन आवश्यक हुने उहाँ बताउनुुहुन्छ । हिमतालको अवस्था र खोलामा जलविद्युतलगायत आयोजना निर्माण गर्दा त्यसले पार्ने असर बारे अध्ययन गर्ने बेला आएको उहाँको भनाइ छ ।यस वर्ष नेपालमा मनसुन सुरु भइसकेको र गतवर्ष भन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप