logo
२०८१ बैशाख ११ मंगलवार



उद्धार र राहतको काम प्रभावकारी बनाउन सरकारसँग एमालेको आग्रह

राष्ट्रिय |


उद्धार र राहतको काम प्रभावकारी बनाउन सरकारसँग एमालेको आग्रह


गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । नेकपा (एमाले) ले बाढी पहिरोमा परेकाहरुको उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार भएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ ।

पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बुधबार विज्ञप्ती जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो । सरकारले विपद् कार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय गरेको छ । पारित कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव पनि एमालेले दिएको छ ।

आफ्नो ज्यान जोखिममा राखी उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुको एमालेले उच्च प्रशंसा गर्दै प्राकृतिक विपत्तिको यस घडीमा स्वयंसेवी भावनाकासाथ उद्धार र राहत कार्यमा सम्पूर्ण रुपमा परिचालित हुन सबै जनप्रतिनिधिहरु, पार्टी कमिटी र युवा पङ्क्तिलाई आह्वान गरेको छ ।

अविरल वर्षालेगर्दा आएको बाढी पहिरो र डुबानमा परी देशका विभिन्न भूभागमा जनधनको ठूलो क्षति भएको छ । बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायत जिल्लाहरु बढी प्रभावित भएको एमालेले जनाएको छ ।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुनेहरुप्रति एमालेले श्रद्धाञ्जली व्यक्त गर्दै वेपत्ताहरुको सकुशल उद्धार हुन सकोस् भन्ने कामना गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घरबारबिहीनहरुको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ । मनसुनको सुरुवातमै आएको प्राकृतिक विपत्तिले सबैलाई चिन्तित तुल्याएको एमालेले भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?