logo
२०८१ बैशाख ७ शुक्रवार



मेलम्चीकाे सुरुङ खाली गर्न सुरु, तीन लाख घनमिटर पानी निकालिँदै

राष्ट्रिय |


मेलम्चीकाे सुरुङ खाली गर्न सुरु, तीन लाख घनमिटर पानी निकालिँदै


मुकुन्द गैरे
काठमाडौं,असार १ गते । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाकोे पूर्वनिर्धारित कार्यक्रम अनुसार आजबाट सुरुङ्गको पानी खाली गर्न सुरु गरिसकेको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले आज विहान ११ बजेबाट सुरुङ्गको पानी खाली गर्न सुरू गरिएकाे गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

उक्त खाली गरेको पानी सुन्दरीजलबाट बागमती नदीमा पठाइएको छ । यसैगरी बाँधमा पानी नियन्त्रण गरी थोरै मात्र पानी सुरुङ्गमा पठाइएको प्रवक्ता पन्तले बताउनुभयो । जम्मा रहेको पानी खाली गर्न दुई हप्ता समय लाग्नेछ । प्राविधिक टोली भित्र गएर सुरुङ्ग निरीक्षण गर्न एक साता देखि १० दिन समय लाग्नेछ । उक्त ठाउँमा कुनै चुहावट वा कुनै समस्या नदेखिए एक हप्तामै निरीक्षणको काम सम्पन्न हुँने छ भने मर्मत गर्नुपर्ने अवस्था आएको अवस्थामा केही समय थप लाग्ने मेलम्ची आयोजनाको भनाइ छ ।

आजदेखि अवको ४५ दिन र बढीमा दुई महिनासम्म काठमाडौंमा मेलम्चीको पानी आउन रोकिने भएको छ । सुरुङ् निरीक्षण गर्दा प्राविधिक टोलीले अक्सिजन सिलिण्डर प्रयोग गरेर भित्र पसी टर्च लाइट मार्फत हेरिने आयोजनाको भनाइ छ । विदेशी लगायत आयोजनाका प्राविधिकहरुले त्यसको निरीक्षण गर्नेछन् ।

सुरुङ्भित्र छिर्न सुन्दरीजल क्षेत्र लगायत चार ठाउँका ढोकामार्फत जान सकिने प्रवक्ता पन्त बताउनुहुन्छ । सुरुङभित्र हाल साढे ३ लाख घनमिटर पानी छ । मेलम्ची खानेपानी आयोजनाले पानी पथान्तरणका लागि महत्वपूर्ण पूर्वाधारहरुको निर्माण सम्पन्न भएसँगै २०७७ फागुन १० गतेबाट सुरुङ परीक्षण कार्य आरम्भ गरेको थियो ।

परीक्षणको क्रममा २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । यसरी प्राप्त पानी चैत १३ गतेबाट सुन्दरीजलमा प्रशाेधन गरी आंशिक रुपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो । चैत्र १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी पठाउन सुरु गरिएको थियो ।
नदी क्षेत्रमा सावधानी अपनाउन आग्रह
मेलम्ची खानेपानीको सुरुङ खाली गर्दा पानी प्रवाह बढ्ने भन्दै नदी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ खाली गर्ने क्रममा बागमती नदी, मेलम्ची नदी, सिन्धुखोला र ग्याल्थुम खोलामा नियन्त्रित रुपमा पानी छाडिने भएकोले खोला वरपर रहेको सबैले सावधानी अपनाउन समितिले अपिल गरेको छ ।

पानी छोड्दा पानीको बहाव बढ्ने हुँदा सो क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन सर्वसाधारण सबैलाई अनुरोध गरेको छ ।
मेलम्ची नदीमा पुरानै अवस्थामा पानी बहने भएकोले नदीको पानीमा आधारित पेशा व्यवसाय सञ्चालन गर्ने सबैलाई आवश्यक सावधानी अपनाउन समितिले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप