logo
२०८१ बैशाख २० बिहीवार

राष्ट्रियसभा सदस्य उपनिर्वाचन मतदान शुरु (फोटो फिचर)

राष्ट्रिय |
फोटो फिचर |


2021-05-20-37854


राममणि दाहाल
हेटौँडा, जेठ ६ गते । राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान शुरु भएको छ ।
हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा अहिले शुरु भएको मतदान ३ बजेसम्म मतदान हुने भएको छ ।
निर्वाचनको मत गणना र परिणाम घोषणा आज साँझनै सर्वाजनिक हुने भएको छ । निर्वाचन अधिकृत श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणम आइसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
उपनिर्वाचनमा कोभिड १९ सङ्क्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्रसहित तीन वटा मतदान केन्द्र व्यवस्था गरिएको छ ।
यसअघि ७२ घण्टा अवधिको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुपर्ने अनिवार्य गरेकोमा मतदाताको पीसीआर परीक्षण नभए पनि मतदानमा सहभागी गराउने सहमति भएको छ ।
मतदान स्थलमा यसअघि प्रदेशसभा सदस्यका लागि केन्द्र (क) र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि केन्द्र (ख) र कोभिड १९ सङ्क्रमित प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले मतदान गर्न मतदान केन्द्र (ग) गरी तीन वटा मतदान केन्द्र तोकिएको थियो ।
निर्वाचनको गोप्यता सुनिश्चित गरिने भन्दै मतदान केन्द्रमा मोबाइल र क्यामेरा लैजान नदिने सहमति भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हालसम्म १३ जना मतदातामा कोरोना सङ्क्रमण भएको जानकारी आएको बताउँदै त्यो सङ्ख्या बढ्नसक्ने बताउनुभयो ।
उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
उपनिर्वाचनका लागि ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता रहनु भएको छ । हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य १०९ जना रहनु भएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतादाता रहने छन् ।