logo
२०८० चैत्र १५ बिहीवार



अक्सिजन उत्पादन बढाउन सैनिक जनशक्ति परिचालन

राष्ट्रिय |


अक्सिजन उत्पादन बढाउन सैनिक जनशक्ति परिचालन
फाइल तस्बिर


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ५ गते । पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका पाँचवटा अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि नेपाली सेनाले प्राविधिक सैनिक जनशक्ति खटाएको छ ।
काठमाडौँको थानकोटको अक्सटिच, काभ्रेको पनौतीको नवज्योति, रुपन्देहीको छिपागढको शङ्कर अक्सिजन, ठुटीपीपलको लुम्बिनी र लुम्बिनी अक्सिजन प्लान्ट सञ्चालनका लागि जनशक्ति खटाइएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहकार्यमा अधिकृतको कमान्डमा ५० जनाको दक्ष जनशक्ति खटाइएको छ । थानकोटस्थित अक्सटिच अक्सिजन प्लान्टको ८० घनमिटर क्षमता छ ।
सो प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि सात जना खटाइएको छ । पनौतीस्थित नवज्योतिमा रहेका दुइटा प्लान्टको उत्पादन क्षमता १५० घनमिटर रहेको छ । त्यसका लागि आठ जना सैनिक जनशक्ति पठाइएको सेनाले जनाएको छ ।
त्यस्तै, रुपन्देही छिपागढको शङ्कर अक्सिजन प्लान्टको दैनिक ५५०, ठुटीपीपलस्थित लुम्बिनीले दैनिक २८८ र बागदुरास्थित लुम्बिनीको पनि २८८ गरी एक हजार १२६ सिलिन्डर उत्पादन क्षमता रहेको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले यी तीनवटा अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि अधिकृत तहको कमान्डमा ३५ जना खटाइएको जानकारी दिनुभयो । अक्सिजनको उत्पादन बढेसँगै कोरोना सङ्क्रमितको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच, सेनाले हवाई र स्थलमार्गबाट गरी ९३० अक्सिजन ग्यास सिलिन्डर ढुवानी गरेको छ । काठमाडौँमा अक्सिजनको अभाव भएपछि विराटनगर, इटहरी, पोखरा, बारालगायतका क्षेत्रबाट काठमाडौँ ल्याइएको हो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?