logo
२०८१ बैशाख ७ शुक्रवार



राष्ट्रियसभा सदस्यमा थापा, देवकोटा र तामाङको उम्मेदवारी

राष्ट्रिय |


राष्ट्रियसभा सदस्यमा थापा, देवकोटा र तामाङको उम्मेदवारी
वायाँबाट तामाङ,देवकाेटा र थापा ।


राममणि दाहाल
हेटौँडा, वैशाख २४ गते । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा आज शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले उम्मेदवारीपत्र मनोनयन दर्ता गराउनुभएको हो ।
बादलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट, देवकोटाले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट र तामाङले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
देवकोटालाई नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको समेत समर्थनसहित साझा उम्मेदवारका रुपमा अघि सारिएको छ ।
गृहमन्त्री बादलको उम्मेदवारी मनोनयन गराउनु बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतसहित नेकपा एमालेका नेताहरु पुग्नुभएको थियो । यस्तै, देवकोटाको मनोनयन गराउन बागमती प्रदेश सभाको प्रमुख विपक्षी दलका नेता शालिकराम जम्कट्टेल, नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ र तामाङको उम्मेदवारी दर्ताका लागि बागमती प्रदेश सभाका प्रदेश सभा सदस्य सिर्जना सैजुलगायतका नेमकिपाका नेताहरुको जानुभएको थियो ।
बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि ३४८ जना मतदाता रहेका छन् । निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बागमती प्रदेशको प्रदेश सभा सदस्य ११० जना र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित २३८ जना गरी ३४८ मतादाता रहने जानकारी दिनुभयो । मनोनयन दर्ताको समय दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?