logo
२०८१ बैशाख ६ बिहीवार



नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले हरायो, कुशल र आशिफको डेब्यु खेलमै अर्धशतक

क्रिकेट |
खेलकुद |


नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले हरायो, कुशल र आशिफको डेब्यु खेलमै अर्धशतक


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ४ गते । नेपालले त्रिदेशीय कप क्रिकेटको उद्घाटन खेलमा जित हात पार्दै सुखद सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको १३७ रनको लक्ष्य नेपालले खेल सकिन पाँच ओभर बाँकी छँदै मात्र एक विकेटको क्षतिमा १४१ रन बनाएर पुरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेष अविजित रहनुभयो । कप्तान मल्लले १५ औं ओभरको अन्तिम बलमा छक्का लगाएर जित दिलाउनुभयो । आशिफ शेषले ५४ तथा ज्ञानेन्द्र मल्लले १३ रन बनाएर अविजित रहनुभयो ।
नेपालको जितमा कुशल भुर्तेलले विष्फोटक पारी खेल्दै मात्र ३० बलमा आफ्नो अर्धशतक पूरा गर्नुभयो । सुरुमा केही गलत प्रहार गरेपनि आशिष शेषले कुशलसँग उत्कृष्ट साझेदारी गर्दै नेपालको पारी उकास्नुभयो । दुबैजनाले नेपालका लागि टी ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि गर्नुभएको साझेदारी अहिलेसम्मकै उच्च हो । नेपाललाई जितको लागि ४४ बलमा २१ रन ल्याउन आवश्यक छँदा कुशल भुर्तेल ६२ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किनुभयो । उहाँले मात्र ४६ बलमा पाँच चौका र पाँच छक्का लगाएर ६२ रन बनाउनुभयो ।
२० वर्षीय आशिफ शेषले समेत आफ्नो अर्धशतक पूरा गर्नुभयो । उहाँले छक्का लगाएर मात्र ३६ बलमा अद्र्धशतक पुरा गर्नुभयो । आशिफले आफ्नो डेब्यु खेलमै अर्धशतक लगाउनुभयो । उहाँले अद्र्धशतक पुरा गर्न चार चौका र चार छक्का प्रहार गर्नुभयो ।
पारस खडका र ज्ञानेन्द्र मल्लले यसअघि पहिलो विकेटका लागि गरेको शतकीय साझेदारीको कीर्तिमान समेत भुर्तेल र शेषको जोडीले भङ्ग गरे । पारस र ज्ञानेन्द्रले सन् २०१९ को मार्चमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमै शतकीय साझेदारी गरेका थिए ।
नेदरल्याण्ड्समाथि जित हात पार्ने क्रममा नेपालले मात्र दश ओभर दुई बलमा एक सय रनको योगफल पूरा गर्यो ।
नेदरल्याण्ड्सको बलिङमा जुलियन डे मेले एक विकेट लिनुभयो ।
नेदरल्याण्ड्सले नेपाल समक्ष १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिदेशीय कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड्सले २० ओभरमा चार विकेटको क्षतिमा १३६ रनको योगफल तयार गरेको थियो ।
कीर्तिपुरस्थिति त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको नेदरल्याण्ड्सले १२ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर म्याक्स ओ डौडले १० तथा बेन्न कूपर डक आउट हुनुभयो । सन्दीप लामिछानेले डौडलाई आरिफ शेषको हातबाट क्याच आउट गराउनुभयो । सोमपालले कूपरलाई एलबीडब्ल्युको धरापमा पार्नुभयो ।
स्कट्ट एडवार्ड्सले बास डे लीडसँग तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्नुभयो । एडवार्ड्सले ३० तथा लीडले ४१ रनको योगदान दिनुभयो । एडवार्ड्सलाई साहब आलमले कुशल भुर्तेलद्वारा क्याच आउट गराउनुभयो । पारीको अन्त्यतिर पिटर सीलर र एन्टोनियस स्टालले उत्कृष्ट पारी खेलेपछि नेदरल्याण्ड्स औसत योगफलसम्म पुग्न सफल भयो ।
कप्तान सीलरले सर्वाधिक २३ तथा स्टालले मात्र नौ बलमा २० रनको योगदान दिनुभयो ।
नेपालका लागि सन्दीप लामिछानेले सर्बाधिक दुई तथा सोमपाल कामी र साहब आलमले एक एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?