logo
२०८१ बैशाख ७ शुक्रवार

  चाँडै रत्तियो बर्दियाको पाहुना  



दैनिक छ किलो मासु झ्वाम, तनाव मुक्त, एक्लै रमाउँदै

राष्ट्रिय |


दैनिक छ किलो मासु झ्वाम, तनाव मुक्त, एक्लै रमाउँदै


लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, चैत ३१ गते । करिब १० वर्षसम्म बर्दियाको घना जंगलमा विचरण गरेको पाटे बाघ ‘टेन्सन’ बिना ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाभित्र रमाइरहेको छ ।
गैँडा गणनामा संलग्न माउते पुलिसराम चौधरीको ज्यान लिएपछि डार्ट गरेर यहाँ ल्याइएको यो बाघ सदर चिडियाखानामा बस्न थालेको एक हप्ता पुगेको छ ।
जंगलकाबीच निस्फिक्रीका साथ भुत्लासहित जंगली जनावरको शिकार निलेको बाघ सदर चिडियाखानामा ‘रेडिमेड’ मासुमा रमाउँदा चिडियाखानाका कर्मचारीहरु पनि अचम्म परेका छन् ।
हाल चिडियाखानामा यो सहित पाँच वटा बाघ छन् । अरु चार वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त भएपछि यहाँ ल्याइएका हुन् । विगतमा यहाँल्याइएका बाघ यति छिटो सामान्य अवस्थामा आउन नसकेको अनुभव यहाँका कर्मचारीसँग छ । तर यो बाघ भने केही दिनमै चिडियाखानामा रमाउन थालेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाका प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार बर्दियाबाट ल्याइपुर्याएकै दिन यो बाघलाई तीनकिलो मासु, पानी खुवाइएको थियो । भोलिपल्ट स्वास्थ्यजाँच गरेर मासुसँग केही औषधि दिइएको थियो । दुई दिनसम्म एकोहोरो भएर हेर्ने बाघले तेस्रो दिनदेखि कोही मान्छे नजिक जाँदा झम्टिन आउला जस्तै गरेर आफ्नो ‘चरित्र’ देखाउन सुरु गरेको उहाँले अनुभव सुनाउनुभयो ।
अहिले हरेक दिन यो बाघलाई छ किलो मासु दिइने गरिएको छ । हालसम्म बाघले करिब ४० किलोसम्म मासु खाइसकेको छ । प्रमुख डा. पोखरेलले भन्नुभयो, उताबाट ल्याउँदा बाघको पञ्जामा चोट लागेको अवस्थामा थियो । हामीले यहाँ उपचार गर्न थालेपछि घाउ निको हुँदै गएको छ । खाना पनि मजाले खाइरहेको छ । जुध्न सक्ने डरले अरु बाघसँग राखिएको छैन । ऊ एक्लै पनि रमाइरहेको छ ।
डा. पोखरेलका अनुसार यो बाघको तौल कम्तीमा १६० किलो रहेको अनुमान गरिएको छ । हप्तामा कम्तीमा ४० देखि ४५ किलो मासु यसको आहार भएको उहाँले बताउनुभयो ।
सन् २०१८ को गणनामा बर्दियाको घना जंगलमा यो बाघ सहित ८७ वटा बाघ रहेका थिए । पछिल्लो समयमा यो संख्या बढेको अनुमान गरिएको छ । बाघले १०५ दिनमा बच्चा जन्माउने गर्छ । एक पटकमा ३ वटासम्म बच्चा जन्माउने भएकाले बर्दियामा यो संख्या बढेर कम्तिमा ९५ वटा रहेको अनुमान गरिएको छ । योसहित बर्दियामा पाँच वटा समस्याग्रस्त बाघलाई डार्ट गरिएको छ भने एउटा बाघ बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रबाट भागेको छ ।
सन् २०१८ को गणनामा चितवनमा ९३ वटा, पर्सामा १८ वटा, बाँकेमा २१ वटा, शुक्लफाँटामा १६ वटा गरी २३५ वटा बाघ नेपालमा रेकर्ड गरिएका छन् । सन् २०२२ सम्ममा नेपालले बाघको संख्या २५० पुर्याउने प्रतिबद्धता व्यक्त गरे अनुरुप काम गरिरहेको छ ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?