logo
२०८१ बैशाख ४ मंगलवार



जसपाले मुद्दा र बन्दिको विवरण भोलिसम्म सरकारलाई बुझाउँदै

राजनीति |


जसपाले मुद्दा र बन्दिको विवरण भोलिसम्म सरकारलाई बुझाउँदै


आशा साह
काठमाडौं, चैत २४ गते । जनता समाजवादी पार्टीले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण सरकारलाई बुझाउने भएको छ ।
जसपा नेता एवं कार्यदल सदस्य लक्ष्मणलाल कर्णले एक–दुई दिनभित्र सरकारलाई मुद्दा र बन्दीको विवरण बुझाउने बताउनुभएको हो । ‘हामीसँग मुद्दा र बन्दीको विवरण तयार छ । अब एक–दुई दिनभित्र सरकारलाई बुझाउँछौं,’ उहाँले गोरखापत्र अनलाइसँग भन्नुभयो ।
जसपाको माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल बनाउनुभएको छ । कार्यदलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई हुनुहुन्छ भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।
सत्ता समीकरणका लागि जसपाले मधेश आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, बन्दीहरूको रिहाइ हुनुपर्ने, घाइतेहरूको उपचार हुनुपर्ने, संविधान संशोधन हुनुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ ।
यसका लागि सरकारले गृहकार्य शुरु गरेको छ । प्रधानमन्त्री ओलीले जसपाले उठाउँदै आएका माग सम्बोधनका लागि गृहकार्य शुरु गर्नुभएको हो ।
मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो । सरकारमा जानका लागि जसपाले राखेका सर्तहरूमध्ये मुद्दा फिर्ताको माग सम्बोधन गर्न ओली सरकारले गृहकार्य थालेको हो ।
जसपामा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह मधेश आन्दोलनका क्रममा उठाइएका माग पूरा भए सरकारमा जान तयार छ । त्यहीकारण सरकारले जसपाको माग सम्बोधनका लागि कानुनी प्रक्रिया अगाडि बढाएको हो ।
जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ । कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाइएको हो ।
सोही अनुसार जसपाले मुद्दा र बन्दी विवारण ओली नेतृत्वको सरकारलाई बुझाउन लागेको हो ।
त्यसो त यिनै विषयमा छलफल गर्न आइतबार साँझ प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा जसपाले उठाएका माग सम्बोधनका विषयमा छलफल भएको थियो ।
जसपाका अनुसार मधेश आन्दोलनका क्रममा जसपाका कार्यकर्तामाथि ८६ थान मुद्दा लगाइएका छन् । तिनमा २८२ जना व्यक्तिलाई प्रतिवादी बनाइएको छ । जसपाका ५० जना कार्यकर्ता अहिले पनि विभिन्न जेलमा रहेको छन् ।
त्यसो त सबैभन्दा बढी मुद्दा टीकापुर घटनामा दर्ता गरिएको जसपाले बताएको छ । सो घटनामा बन्दी बनाइएका जसपाका सांसद रेशम चौधरीको रिहाइको मुद्दालाई जसपाले प्रमुख एजेण्डा बनाएको छ ।
२०७२ साल भदौ ७ गते टीकापुरमा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला भएको थियो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?