logo
२०८१ बैशाख ७ शुक्रवार



द्रुतमार्गको ठेक्का सालेसलाई सेनाको जवाफ

राष्ट्रिय |


द्रुतमार्गको ठेक्का सालेसलाई सेनाको जवाफ


भउचप्रसाद यादव

काठमाडौँ, चैत २ गते । काठमाडौँ–तराई/मधेस दु्रतमार्गको सुरुङ र हाइ ब्रिज निर्माणका लागि अगाडि बढाएको ठेक्का प्रक्रियाका सम्बन्धमा सार्वजनिक लेखा समितिले सोधेका प्रश्नको जवाफ नेपाली सेनाले दिएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले रक्षा मन्त्रालयमार्फत प्राप्त प्रश्नको जवाफ र सम्बन्धित विवरण आइतबार समितिमा पठाइएको जानकारी दिनुभयो । समितिले फागुन २६ गते पत्र पठाएको थियो । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौँ–तराई÷मधेस दु्रतमार्गको सुरुङमार्ग तथा ‘हाइ ब्रिज’ (मोटरेबल पुल) निर्माणका लागि सुरु भएको ठेक्का प्रक्रियाबारे छानबिन सुरु गरेको छ ।
समितिका सचिव डा. रोजनाथ पाण्डेले दु्रतमार्गको सुरुङमार्ग तथा ‘हाइ ब्रिज’ निर्माणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा समितिले छानबिन सुरु गरेको जानकारी दिनुभयो ।
सचिव पाण्डेले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गको ठेक्का प्रक्रिया सार्वजनिक खरिदको मूल्य मान्यताको आधारमा होस् र सक्षम निर्माण कम्पनी छनोट होस् भन्ने सकारात्मक सोचका साथ समितिले छानबिन अगाडि बढाएको स्पष्ट पार्नुभयो ।
द्रुतमार्गको सुरुङमार्ग तथा ‘हाइ ब्रिज’ निर्माणका लागि आह्वान गरिएको ‘प्रि–क्वालिफिकेसन’का क्रममा ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएका थिए । तीमध्ये तीनवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको बताउँदै सैनिक प्रवक्ता पौडेलले सार्वजनिक खरिद ऐनअनुसार नै सम्पूर्ण ठेक्का प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।
आगामी तीन वर्षभित्र द्रुतमार्गको सुरुङ तथा ‘हाइ ब्रिज’ निर्माण सम्पन्न गर्ने गरी फागुनको पहिलो साता ठेक्का आह्वान गरिएको थियो । उहाँले यही चैत २० गते ठेक्का खोलिने जानकारी दिनुभयो । कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङमार्ग तथा हाइ ब्रिज निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?