logo
२०८१ बैशाख ५ बुधवार



अधिवेशनमा जनताका मुद्दामा बहस हुने सांसदहरूकाे विश्वास 

राष्ट्रिय |


अधिवेशनमा जनताका मुद्दामा बहस हुने सांसदहरूकाे विश्वास 
तस्बिरः शेखर चाैलागाईं / गोरखापत्र अनलाइन


        
काठमाडौँ, फागुन २३ गते । प्रतिनिधिसभाको सातौँ अधिवेशनमा भाग लिन पुगेका सांसदहरूले सर्वाेच्च अदालतको आदेशपछि पुनःस्थापना भएको संसद्मा जनताका विषयवस्तुमा बहस हुने विश्वास व्यक्त गर्नुभएको छ । सभामा प्रवेश अघि प्रतिक्रिया दिँदै उहाँहरूले प्राप्त अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।    
    
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले आफूहरूले निर्वाचन चाहेको भए पनि अदालतको फैसलालाई सम्मान गर्दै संसद्को अधिवेशनमा स्वभाविक रुपले प्रवेश गर्दै खुशी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “एउटै बलियो पार्टीमा विवाद र विभाजनको रेखा कोरिसकेपछि गम्भीर मतमतान्तर सडकसम्म छताछुल्ल भएर चिन्तित् तुल्याउनु स्वभाविक हो तर चिन्ता गरेर बस्ने होइन्, सामना गर्दै पुनःनिर्माण र ताजगी बनाएर अघि जानुपर्छ, शङ्का कौतुहलता मेटिँदै जान्छ ।”    
    
नेकपाकै सांसद यज्ञ सुनुवारले संसद् भङ्ग नहुनुपर्ने कुरा भएको थियो त्यसलाई अदालतले सच्याएसँगै हालका प्रतिनिधिसभाका सदस्यले दुई पटक निर्वाचन जितेको अनुभव भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “एउटा जनताबाट जितेर आइयो, अर्को सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई अस्वीकार गरी संसद् पुनःस्थापना गरेसँगै दुई पटक चुनाव जितेको अनुभव भएको छ । जनताका विषयवस्तु संसद्मार्फत अभिव्यक्त गर्न फेरि पनि अवसर मिलेको छ, खुशी छौँ ।”    
    
जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले लोकतन्त्रको मूल्यमान्यता विपरीत पुस ५ गते सरकारले चालेका कदमलाई सर्वाेच्च अदालतले संविधानको रक्षाका लागि आएको फैसला आफैँमा ऐतिहासिक भएकाले सदनको अधिवेशन सञ्चालन भएसँगैै लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिनुभयो ।    
    
 नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले लोकतान्त्रिक संस्कार दलमा नभएको सूचकको रुपमा विघटन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतले संसद् ब्यूँतिएकाले वैधानिक, राजनीतिक र नैतिकरूपमा प्रतिपक्षले अहिलेको सरकारलाई समर्थन गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्रीले सहज निकास निकाल्नुपर्छ ।”    

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?