logo
२०८० चैत्र १५ बिहीवार



मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

राष्ट्रिय |


मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार


गोरखापत्र अनलाइन
काठमाडौं, फागनु २१ गते । तेजाव आक्रमणविरुद्ध सक्रिय नेपाली किशोरी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने भएकाे छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि सो पुरस्कार प्रदान गर्न लागिएकाे नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल घोषणा कार्यक्रमको आयोजना गर्नुहुने जनाइएको छ ।
हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायः ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गर्ने गरिन्छ । 
सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार हुनुभएको थियो । उहाँको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो। उहाँको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ ।
यसका बाबजुद मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गर्नुभयो । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लाग्नुभयो । प्रधानमन्त्री के.पी. ओलीसँग खातुनले भेट गर्नुभयो जसले गर्दा प्रधानमन्त्रीका तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गर्नुका साथै र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी भयो ।

(भूलसुधार ः यस अघि माथिकाे समाचारमा साे पुरस्कार पाकिस्तानी किशाेरी मलाला युसफजाइजे पनि पाउनु भएकाे भन्ने परेकाेमा भूल सुधार गरिएकाे छ । काठमाडाैंस्थित अमेरिकी दूतावासले जारी गरेकाे विज्ञप्तिमा अाधारित रहेर साे समाचार तयार गरिएकाे थियाे ।  दूताबासले समेत गल्ती भएकाे भनि सुधार गरेकाे छ । यसबाट  पाठकमा पर्न गएकाे असुविधाका लागि क्षमाप्रार्थी छाैं । सम्पादक) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?