logo
२०८० चैत्र १५ बिहीवार



‘ओहो ऐना अगाडि नै उभिए जस्तो लाग्यो’

कला |


‘ओहो ऐना अगाडि नै उभिए जस्तो लाग्यो’


केशवराज खनाल
काठमाडौं, फागुन १४ गते । ‘ओहो ऐना अगाडि नै उभिए जस्तो लाग्यो, दुरुस्त बनाउनु हुँदोरहेछ ।’ कलाकार कृष्णगोपालले बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मुहारचित्र उतारी रहदाँ उहाँ दङ पर्नुभयो । धेरैबेर एकै ठाउँमा बसिरहँदा यहाँलाई अप्ठ्यारो त भाको छैन भन्ने प्रश्नमा मुसुक्क मुस्काउँदै भन्नुभयो ‘राम्रो चित्र बनाउन लाग्नुभएको छ । यति त खपिहालिन्छ नि ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागद्धारा आयोजित ८ दिने मुहार चित्रकला कार्यशालामा आज श्रेष्ठका साथमा हरीवंश आचार्य र सुरसुधा सांगितिक समूहका संस्थापक सदस्य वरिष्ठ तबला वादक सुरेन्द्र श्रेष्ठको मुहार चित्रण गरियो ।
कार्यशालामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य नायिका मनीषा कोइराला, अनुराधा कोइराला हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आनी छोइङ डोल्मा, तबला वादक सुरेन्द्र श्रेष्ठ, व्यवसायी सुरेन्द्रवीर मालाकार, प्रदीपकुमार श्रेष्ठ, अम्बिका श्रेष्ठ, पृथ्वीबहादुर पाण्डे, साहित्यकार भद्रकुमारी घले र समाजसेवी अनुराधा कोइरालाको पोट्रेट बनाइदैंछ ।
सभ्यताको उदयसँगै जन्मिएको ललितकलासँग गाँसिन पाउँदा आफूलाई निकै खुसी महसुस भएको वरिष्ठ कलाकार हरिवंश आचार्यले बताउनुभयो उहाँको मुहारलाई कलाकार डि. राम पाल्पालीले क्यान्भासमा उतार्नुभयो । ‘चल्ने चित्रको आयुको तुलनामा यो नचल्ने चित्रको आयु र सम्मान फरक हुन्छ । मलाई चित्रकला असाध्यै मन पर्छ र यो कार्यशालामा मोडलका रुपमा जोडिन पाउँदा गर्व लागेको छ ।’ आचार्यले आफ्नो भावना पोख्नुभयो ।
कलाकार पकबहादुर थापाले क्यान्भासमा मुहार सिंगारिरहँदा प्रफुलित देखिनुभएका वरिष्ठ तबला वादक सुरेन्द्र श्रेष्ठको मधुरो मुस्कान थियो । ‘म विदेशमा जादाँ केही विदेशी कलाकारले मेरो चित्र बनाएका थिए । तर प्रख्यात नेपाली चित्रकारहरुले यसरी अगाडि राखेर चित्र बनाउँदा निकै खुसी र गर्व लागेको छ’, श्रेष्ठले बताउनुभयो । आफ्ना अन्य कामलाई पनि थाँती राखेर आजको दिन चित्रकारसंग बस्ने सुअवसर प्राप्त भएको प्रतिक्रिया दिनुभयो । श्रेष्ठको मुहारलाई प्राज्ञ गजेन्द्र श्रेष्ठले पनि बनाउनु भएको थियो ।
‘चित्र त सधै बनाइन्छ यद्यपि आफूले टिभी वा सिनेमामा देखेका अग्रज व्यक्तित्वलाइ अगाडि राखेर चित्रण गर्दा रमाइलो र फरक अनुभूति भएको छ ।’ कलाकार अशुराम खाईजुले मदनकृष्ण श्रेष्ठको चित्र उतादै गर्दा आफ्नो भावना पोख्नुभयो । अग्रजहरुको व्यक्तित्व जस्तै गरी चित्रमा उतार्न सक्नु नै चुनौती हो र रमाइलो पनि, खाईजुले थप्नुभयो ।
आठ दिनसम्म सञ्चालन हुने कार्यशालामा कलाकारहरू प्राज्ञ गजेन्द्रमान श्रेष्ठ, आलोक गुरुङ, बाबुराजा देउला, सृजन राजभण्डारी, डि.राम पाल्पाली, कृष्ण प्रकाश शाह, किशोर नकर्मी, रोशन प्रधान, प्रदीप श्रेष्ठ, कान्छा काजी भासिमा, अशुराम खाईज, पकबहादुर थापा र पूजा महर्जनले लाइभ पोट्रेट बनाउनु हुनेछ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार र प्राज्ञ बुद्धि गुरुङ अतिथि कलाकारका रुपमा सहभागी हुनुहुनेछ ।

कलालाई समाजका विभिन्न तप्काका व्यक्तित्वसँग जोड्ने सोच अनुरुप यो कार्यशालाको आयोजना गरिएको चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीले जानकारी दिनुभयो । कार्यशालामा तयार भएका मुहारचित्रको प्रदर्शनी एवं बिक्रीबाट प्राप्त रकम सिन्धुपाल्चोकको कालिकादेवी माध्यमिक विद्यालयका बालबालिकाको शिक्षामा सहयोग गरिनेछ । कार्यशालामा सृजना भएका कलाकृतिलाई फागुन १८ प्रदर्शनी गरिने पनि उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?