logo
२०८० चैत्र १६ शुक्रवार



भारतीय कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित

अर्थ |


भारतीय कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित


राँझा, फागुन १४ गते । भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन् । मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको खजुरा गाउँपालिका–२ सीतापुरका कुखुरा व्यवसायी इन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेका छन् । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ ।

भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेको अर्का व्यवसायी लक्ष्मीबहादुर थापाले बताउनुभयो ।

सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ । यसरी भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायतका जिल्लामा समेत पुग्ने गरेको कुखुरा व्यवसायी थापाको भनाइ छ ।

कुखुरा व्यवसायी थापाले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो गर्नुभयो । भारतीय कुखुराका कारण महङ्गो दाना र औषधि खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको उहाँको भनाइ छ ।

भारतमा रु १८० प्रतिकेजीमा पाइने कुखुरा नेपालमा रु २१० प्रतिकेजी थोक मूल्यमा तस्करहरूले पसल–पसलमा पुर्याउने गरेका छन् । रु २१० मा खरिद भएको कुखुराको मासु उपभोक्तालाई भने खुद्रा मूल्य रु ३४० सम्ममा बिक्री गर्ने गरिएको छ । मुनाफाका लागि नेपालगञ्जका मासु व्यवसायीले लुकाइछिपाई अवैधरूपमा कुखुरा ल्याउने र बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

नेपाल–भारत सीमाक्षेत्र जुमनाहस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरी मुख्य सीमा नाकाबाट कुखुराजन्य पदार्थ भित्रिन नदिएको बताउनुभयो । “यहाँबाट भारतीय कुखुरा र अण्डा भित्रिन दिएका छैनौँ”, इन्चार्ज गिरीले भन्नुभयो, “खुला नाका भएकाले सुरक्षाकर्मी नभएको भित्री गाउँबाट भित्रिएको हुनसक्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?