logo
२०८० चैत्र १५ बिहीवार



प्रचण्ड–नेपाल भेटघाटमा सक्रिय, राजनीतिक सहकार्यमा जोड

राष्ट्रिय |


प्रचण्ड–नेपाल भेटघाटमा सक्रिय, राजनीतिक सहकार्यमा जोड


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल  समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपाध्यक्ष वामदेव गौतमले बिहान भेटवार्ता गरी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा नेपाली राजनीतिलाई नयाँ ढङ्गले निकास दिनेगरी योजना बनाउन गौतमले आग्रह गर्नुभएको बताइएको छ ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियानलाई सफल पार्नेगरी योजना बनाउन अध्यक्ष प्रचण्डसँग प्रस्ताव गर्नुभएको छ । आफू पार्टी एकताको अभियानलाई सांगठनिकरुपमा अगाडि बढाएको स्मरण गराउनुहुँदै उपाध्यक्ष गौतमले पार्टी एकता गर्नेगरी आवश्यक पहल लिन अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभएको छ ।
करिब एक घण्टासम्म भएको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीभित्र आवश्यक छलफल गरी समस्या समाधानका लागि ठोस योजनासाथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो । यसैगरी नेता गौतमका प्रमुख स्वकीय सचिव दीपक टमटाका अनुसार दुई नेताहरुबीच घण्टौं लामो छलफल भए पनि ठोस प्रस्तावका बारेमा भने आफूलाई जानकारी नगराइएको बताउनुभयो । समसामयिक विषयमा छलफल भएको हुनसक्ने उहाँले बताउनुभयो ।

जसपाका नेताहरुसँग छलफल
यसैबीच नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले बिहीबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुसँग छलफल गर्नुभएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भएको छलफलमा अध्यक्ष प्रचण्ड र नेपालले सहकार्य गरेर अगाडि बढ्ने प्रस्ताव जसपका नेताहरुसँग गर्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटका क्रममा जसपाबाट नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठको सहभागिता रहेको बताइएको छ । वर्तमान राजनीतिलाई सही ठाउँमा ल्याउन र राजनीति स्थायित्वका लागि पनि मिलेर अगाडि बढ्नुको विकल्प नरहेको भन्दै अध्यक्ष प्रचण्ड–नेपालले जसपाका नेताहरुलाई सहकार्य गरेरै अगाडि बढ्ने प्रस्ताव राख्नुभएको छ । जवाफमा जसपाका नेताहरुले मधेस र थरुहट आन्दोलनताका पक्राउ परेका केही नेताहरु अझै जेलमै रहेकाले मिलेर अघि बढ्न उहाँहरुको रिहाइको प्रस्ताव अघि सार्नुभएको बुझिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?