logo
२०८१ बैशाख ७ शुक्रवार



‘उद्योग–व्यवसाय प्रमुख प्राथमिकतामा’

अर्थ |


‘उद्योग–व्यवसाय प्रमुख प्राथमिकतामा’


नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, फागुन १३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले दशको आर्थिक उन्नतिका लागि उद्योग व्यवसाय क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “औद्योगिकीकरणमार्फत रोजगारी वृद्धि गरेर देश र जनतालाई समृद्ध बनाउने अभियानमा सरकार तीव्र गतिमा लागेको छ । ”
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले नेपालगञ्जमा मन्त्री भट्टको स्वागतमा आयोजना गरेको कार्यक्रममा सङ्घले दिएको १२ बुँदे माग बुझेपछि बोल्दै उहाँले उद्योगी–व्यवसायीका माग महŒवपूर्ण रहेकाले सो पूरा गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।
स्वदेशी उत्पादन बढाउँदै देशलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि प्राकृतिक साधन स्रोतलाई कच्चा पदार्थका रूपमा बढीभन्दा बढी उपयोग गरेर अगाडि बढ्ने नीति मन्त्रालयले लिएको पनि उहाँले सो अवसरमा बताउनुभयो ।
आर्थिक विकासबिना राष्ट्र र राष्ट्रियता दुवै बलियो हुन नसक्ने जनाउँदै मन्त्री भट्टले सोही कारणले वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्ने अभियान चलाएको बताउनुभयो ।
सङ्घका तर्फबाट अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बुझाएको मागपत्रमा गहँुको पिठो, मैदा र सुजीलगायत उपभोग्य वस्तुमा लगाएको मूल्य अभिवृद्धि कर तत्काल खारेज गर्नुपर्ने उल्लेख छ । त्यस्तै उद्योग–व्यवसाय निर्बाध रूपमा चलाउनका लागि आर्थिक सङ्कट काल घोषणा गरी राष्ट्रिय उद्योग–व्यवसायलाई धराशयी हुनबाट जोगाउन शीघ्र आवश्यक कदम चाल्नुपर्ने, फर्म दर्ता तथा नवीकरण गर्ने क्रममा एकद्वार प्रणालीबाट एउटै स्थानमा सम्पूर्ण प्रक्रिया हुने व्यवस्थालाई यथाशीघ्र लागू गर्नुपर्नेलगायत उल्लेख छन् ।
अध्यक्ष मन्सुरीले कोभिड–१९ महामारीको प्रभाव अहिलेसम्म पनि विद्यमान रहेका कारण बैङ्कलाई बुझाउनुपर्ने किस्ताको म्याद थप गर्नुपर्नेलगायतका माग पनि राखेको बताउनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेशका कृषि सहकारी तथा भूमि व्यवस्थामन्त्री आरती पौडेलले प्रदेश सरकारले पनि बाँकेलाई आर्थिक केन्द्र बनाउने उद्देश्यका साथ विभिन्न योजना अघि सारेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?