logo
२०८१ बैशाख ७ शुक्रवार



नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन

विदेश |


नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन



गोरखापत्र समाचारदाता

काठमाडौँ, फागनु १३ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको हो ।
नवनियुक्त राजदूत खतिवडाले बुझाउनुभएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गर्दै उहाँलाई अमेरिकामा कूटनीतिक व्यक्तिका रूपमा स्वागत गर्नुभएको छ । साथै राष्ट्रपति बाइडेनले आफ्नो सरकार दुई देशको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताउनुभएको छ ।
ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र स्वास्थ्यको कामना गर्नुका साथै अमेरिका र त्यहाँको जनताको समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
साथै उहाँले राष्ट्रपतिले व्यक्त गर्नुभएको शुभेच्छा र न्यानो स्वागतका लागि धन्यवाद प्रकट गर्नुभयो ।
राजदूत खतिवडाले नेपालको समग्र विकासमा अमेरिकी सरकारले गरिरहेको सहयोगको सराहना गर्दै आगामी दिनमा बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार गरेर दुई देशबीच गहिरो र फराकिलो सम्बन्ध बनाउन सहकार्य गर्ने चाहना व्यक्त गर्नुभएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
यसैबीच नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले समकक्षी खतिवडाको सफल कार्यकालको कामना गर्नुभएको छ । नेपालको अर्थमन्त्री रहनुहुँदा डा. खतिवडासँग विभिन्न कार्यमा अमेरिकाले सहकार्य गरेको स्मरण गर्नुहुँदै उहाँले राजदूत भएपछि दुई देशको सम्बन्ध र सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?